निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलको ४९औं विद्यालय जन्मजयन्ति तथा अभिभावक दिवस कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको प्रतिनिधि सभा सदस्य मैनालीले पानसमा दिप प्रज्वलन गरेर समारोहको उद्धाटन गर्नुभएको थियो ।उद्धाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले शिक्षा देश विकासको पहिलो आधार भएकोले यसको सुधारमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको अवस्था सुधार हुन सकेन भने देशले कहिल्यै फडको मार्न नसक्ने पनि बताउनुभयो । शिक्षा क्षेत्रको विकासको लागि आफू सधै तत्पर रहेको बताउदै विद्यालयको उत्तरोउत्तर प्रगतिको लागि शुभकामना पनि दिनुभएको थियो ।कार्यक्रममा विद्यालयका प्राधानाध्यपक यादवकुमार तिमल्सिनाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखापाल संन्तोष बन्जाराले आयव्याय विवरण पेस गर्नुभएको थियो ।त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति बाराकी उपाध्यक्ष चण्डिका
उप्रेती, निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा (सोनु), वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, निजगढ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, नेपाली कांग्रेस निजगढ नगर सचिव मधु तिमल्सिना, नेकपा माओवादी केन्द्रका बेनी मोक्तान, राप्रपा निजगढ अध्यक्ष खडकप्रसाद उप्रेती, गौरीशंकर मावि ८ का प्रधानाध्यापक बद्रिनारायण झा, सार्वजनिक मावि बागदेव संचालक समितिका अध्यक्ष दुर्गा गौतमलगायतले विद्यालयको सफलताको लागि शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियाकलामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुको साथै विद्यालयका पूर्वशिक्षकहरुको सम्मान तथा विदायी पनि गरिएको थियो । कार्यक्रममा छात्रछात्राहरुले विभिन्न संस्कृतिक नाचगानसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षकका श्रीहरी न्यौपानले गर्नुभएको थियो ।

Leave a Reply