नरेश गुप्ता
बरियारपुर,कार्तिक शुक्लपुर्णिमाका दिन मंसिर ३ गते बाराको फेटा गाउँपालिका र करैयामाई गाउँपालिकाले पालिकाभित्र सार्वजनिक विदा दिएका छन । दुबै गाउँपालिकाले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरि सार्वजनिक बिदा घोषणा गरेका छन ।
हरेक वर्ष झै यस वर्ष पनि कार्तिक शुक्लपुर्णिमाको दिन अर्थात मंसिर ३ गते फेटा गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणी धाम र खैरेतीमाई मन्दिरमा मेला लाग्ने भएकोले सो अवसरमा पालिकाभित्र एक दिनको लागि सार्वजनिक बिदा दिइएको फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल साहले जानकारी दिनुभयो ।
फेटा गाउँपालिकाको सबै कामकाज र पालिकाभित्रका सामुदायिक विद्यालयमासमेत एक दिन बिदा दिइएको उहाँले बताउनुभयो ।
त्यसैगरी करैयामाई गाउँपालिकाले पनि सो अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । करैयामाई गापा वडा नम्बर १ स्थित करैयामाई मन्दिरमा मेला लाग्ने भएकोले गाउँपालिकाले सार्वजनिक बिदा गरेको हो । पालिकाहरुले सार्वजनिक बिदा दिएको बिषयमा जिल्ला प्रशासन कार्यलय बारालाई बोधार्थ समेत पठाएको छ । कार्तिक शुक्लपुर्णिमा नदी, पोखरीमा स्नान गरेपछि पुण्य प्राप्ति हुने जन विश्वास रहदै आएको छ ।