सिमरा,वीरगन्जस्थित प्रतीक प्रकाशन समूह प्रालिले प्रदान गर्दै आएको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष बारा पथलैयाका फोटो पत्रकार दिवाकर भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार भण्डारी प्रेस चौतारी नेपालका बारा जिल्ला अध्यक्ष र प्रतीक दैनिक र काठमाण्डौंबाट प्रकाशन हुने अन्नपुर्ण दैनिकका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा साउन सोमबार बसेको बैठकले ३५ हजार राशिको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार भण्डारीलाई दिने निर्णय गरेको पत्रिकाका व्यवस्थापक÷सम्पादक विकाश शर्माले जानकारी दिनुभयो । २०६५ सालमा १० हजार राशिबाट शुरु भएको यो पुरस्कारको राशी यस वर्षबाट ३५ हजार पुर्याइएको हो । यसअघि वीरगन्जका १३ जना फोटोपत्रकारलाई यो पुरस्कार प्रदान गरिसकेका छन । आगामी भदौ १ गते प्रतीक दैनिकको ३५ औं वार्षिकोत्सव कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिने बताइएको छ ।