वीरगन्जको नारायणी अस्पतालमा अक्सीजन प्लान्ट निर्माणको कुरा छ तर काम भएको छैन । कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी बिरामीलाई अक्सिजनको अवश्यकता भयो । अक्सिजनको तह घट्दै जाने समस्या बढी बिरामीमा देखिएकाले यसको पूर्ति गर्न अस्पताल र बिरामीको आफन्तलाई धौधौ प¥यो । धेरैले अक्सिजन अभावमा ज्यान गुमाए । पहिलो चरणको महामारीमा त्यति आवश्यक नपरेको अक्सिजनको आवश्यकता दोस्रो चरणमा खड्कियो । हतारमा केही स्थानमा अक्सिजन प्लान्ट पनि बने । पहिले भएका उद्योग र अस्पतालका प्लान्टको महत्व महामारीले दर्शायो ।
अक्सिजन भए पनि सिलिण्डर नहुँदा अर्को समस्या राज्यले झेल्नुप¥यो । देश विदेशबाट अक्सिजन सिलिण्डर जुटाउनेदेखि अक्सिजन प्लान्ट निर्माण गर्ने विषयमा सरकारले ध्यान केन्द्रित ग¥यो । दोस्रो चरणको कोरोना महामारी अक्सिजनको अभाव टार्दाटार्दै केही हदसम्म नियन्त्रण भयो । अब तेस्रो चरणको खतरा छ । मुलुकभर फेरि विस्तारै कोरोना महामारीको लहर बढ्दैछ । क्रमशः खाली बन्न लागेका अस्पतालका बेड पुनः भरिन थालेका छन् ।
मृतकको संख्या बढ्दैछ । सहरमा मात्रै नभई गाउँ गाउँसम्म कोरोनाका लक्षणसहितका संक्रमित थपिँदैछन । बजार पसलमा भीड बढ्दा संक्रमण चाँडो फैलँदैछ । घरबाहिर निस्कनेले स्वास्थ्य मापदण्ड नअपनाउँदा खतरा अझै उच्च छ । कोरोनाको उपचारका लागि नै भनेर औषधि नबनाए पनि बिरामीमा देखिने लक्षणको उपचार गरेर संक्रमितलाई निको पारिँदै आएको चिकित्सक बताउँछन । तर, त्यसका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री अभावले पनि कोरोना महामारी नियन्त्रण गर्न समस्या भएको उदाहरण धेरै छन् । कोरोना महामारी सुरु भएपछि स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले ध्यान दिए पनि अझै पर्याप्त भने छैन