मौसम विभागले असार ६ गतेबाट देशभर मौसमी प्रणालीको विकास भएको बताएको छ । १३ जेठमा नेपाल भित्रिएको भनिएको मनसुन सक्रिय हुन झण्डै एक महिना जति लागेको छ ।सामान्यतया जेठको अन्त्यतिर नेपालमा आउने मनसुन असोजको लगभग मध्यसम्म रहने गर्दछ । मनसुनी प्रणालीले नेपालमा हरेक वर्ष धनजनको ठूलो क्षति गर्दैआएको छ । नेपाल हुने अन्य विपद्को तुलनामा मनसुनजन्य विपद्बाट हुने मानवीय र भौतिक क्षतिको अवस्था डरलाग्दो देखिन्छ ।
नेपालमा यो वर्ष भित्रिएको मनसुनी प्रणालीले विगतको भन्दा पनि ठूलो असर पार्नसक्ने आकल गरिएको छ । मौसमविद्हरुले यो वर्ष वितेको ३० वर्षभित्रकै सबैभन्दा धेरै वर्षा हुने पूर्वानुमान गरिसकेका छन ।त्यसैले पनि बाढी, पहिरो, डुबान, भूक्षय र चट्याङ्ग जस्ता मनसुनजन्य विपद्बाट जोगिनका लागि सोही अनुरुपको तयारी पनि आवश्यक छ ।
तीन वटै तहका सरकारहरुले यसको लागि आवश्यक तयारी गरेको भन्ने कुरा पनि संचार माध्यमहरुबाट समाचार सुन्ने गरिएको छ । विगतका वर्षहरुमा पनि त्यस्ता समाचारहरु सार्वजनिक हुने गरेका थिए । तर व्यवहारमा भने मानवीय र भौतिक क्षति नभएको कुनै वर्ष छैन ।

गएको वर्ष मात्रै पनि नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । त्यतिबेला विपद्बाट जोगाउन संचालन गरिने भनिएका क्रियाकलापहरु निष्प्रभावी जस्तै बनेका थिए । यो वर्ष पनि नागरिकले फेरि त्यस्तै नियति भोग्नुपर्ने त होइन भन्ने चिन्ता स्वभाविक बनेको छ । किन भने त्यसपछि यो क्षतिबाट बच्नका लागि थप कुनै नयाँ र प्रभावकारी प्रयास भएको देखिदैन ।गएको वर्षको विपद्बाट पनि सरकार र नागरिकले पनि धेरै कुरा सिक्न जरुरी छ । यसबाट जोगिनको लागि सरकारले गर्ने तयारीसंगै नागरिकहरु पनि सचेत बन्न आवश्यक छ ।सबै कुरामा सरकारको मुख ताकेरमात्रै पुग्दैन । नागरिकहरु आफै पनि सचेत बन्न सकेको खण्डमा मात्र यस्ता विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ , त्यसैले विपद्बाट जोगिन हामी सबै बेलैमा सचेत र जागरुक बनौं ।

 

Leave a Reply