वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले अवैध बित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बाट दुईजना व्यक्तिलाई पक्राउ गरेको हो ।
भारतीय नागरिक ४५ बर्षीय बृजकिशोर गिरी सहित पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ गुलरियाका ५० बर्यीय रामपुकार पटेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट श्रोत खुल्न नसकेको दश लाख त्रिसठ्ठी हजार छ सय बीस रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उनीहरुका बिषयमा थप अनुसंधान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीहलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पनि पर्सा प्रहरीले जानकारी दिएको छ ।