नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकाकी नगर उपप्रमुख तारादेबी कानुले सीप सिकेपछि आत्मनिर्भर बन्नु पर्ने बताउनु भएको छ ।
बाराको महागढीमाई नगरपालिका अन्तर्गत रहेको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ९ पिपरास्थित दलित महिलाहरुको लागि संचालन गरिएको सात दिने लहठी चुरा बनाउने तालिमको समापन कार्यक्रमलाई बिहिवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सीप सिकेपछि त्यसलाई व्यवसायमा रुपान्तरण नगरिएकाले महिलाहरु आत्मनिर्भर बन्न नसकेको उहाँले बताउनु भयो । कुनै पनि काम ठुलो र सानो नभएको बताउदै सीप ठूलो रहेकोले सीप सिकेर स्थानीय तहमै विभिन्न प्रकारको घरेलु उद्योग संचालन गर्न सकिने उहाँले बताउनु भयो । सोही कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा संयोजक बिजय कुशवाहाले महिलाहरुको लागि सिपमुलक तालिममा नगरपालिकाले लगानी गर्दै आएकोले सोही अनुसारको प्रतिफल आउनु पर्नेमा जोड दिनु भएको थियोे । सिपलाई ब्यवहारमा उतार्न सके मात्र अगाडि बढने उहाँले बताउनुभयो ।
तालिममा सहभागी २४ जना महिलाहरुलाई सरला मण्डलले प्रशिक्षण दिनु भएको थियो । महिला हिंसा तथा मानव बेचबिखन विरुद्धको कार्यक्रम अन्तर्गत दलित महिलाहरुको लागि सात दिने लहठी चुरा बनाउने तालिम संचालन गरिएको महिला तथा बालबालिका महागढीमाई शाखा संयोजक गुन्जा जैसवालले बताउनु भयो । कार्यक्रमको समापन वडा अध्यक्ष शसिकान्त मिश्रले गर्नु भएको थियो ।