पुष्पराज खतिवडा

मनहर्वा,नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर पार्ने खेल भइरहेको नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल मधेश प्रदेशको शनिबार रौतहटको चन्द्रपुरमा हुने प्रादेशिक अधिवेशनमा पार्टीको तर्फबाट सहभागी हुन शुक्रबार साँझ बाराको सिमरामा आइपुग्नु भएका ज्ञवालीले सिमरामा कार्यकर्ताहरुसंग कुरा गर्दै यस्तो बताउनु भएको हो । “बर्तमान राजनीतिक परिघटनाको सार कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नु हो ।” उहाँले भन्नुभयो ।

नेकपा एमाले जीतपुरसिमरा नगर पार्टी कार्यालय सिमरामा भएको कार्यक्रममा पूर्वस्थानीय विकास मन्त्री समेत रहेका उपाध्यक्ष ज्ञवालीले पूँजीवादी शक्तिले कम्युनिष्ट आन्दोलन कमजोर पार्ने प्रयास गरिरहेको बताउनुभयो । “सबैभन्दा ठुलो र नेपाली जनताको अपार समर्थन रहेको एमाले पार्टीलाई कमजोर बनाउँदा आफ्नो स्वार्थ पुरा हुने उनीहरुले देखेका छन्, उहाँले भन्नुभयो, वर्तमान घटनाक्रमले त्यही देखाउँछ ।”

“संसारमै पहिलो पटक चुनावी प्रकृयाबाट नेपालका कम्युष्टिहरु राज्यसत्तामा पुगेको बिदेशी शक्तिलाई पचेको थिएन, फलस्वरुप आफ्नै पार्टीभित्र विखण्डन गराएर पूँजीवादी शक्तिले खेलेका छन, उहाँले भन्नुभयो, “कतिपय अवसरवादी नेताहरु हाम्रैविरुद्ध प्रयोग भए, जुन दुःखको कुरा हो । तर उनीहरुको त्यो सपना पुरा हुन एमालेले दिने छैन ।”

एमाले सरकारले कठिन परिस्थितिमा सत्ताको बागडोर सम्हालेको भन्दै उहाँले नयाँ ब्यवस्थालाई स्थापित गर्न जनताले दिएको जिम्मेवारी एमाले सरकारले आंशिक पुरा गरेको उहाँले बताउनु भयो । एउटै मात्र छिमेकीसँगको निर्भरता तोड्दै चाईनासँग पारवाहन सन्धी, भुकम्पले भत्काएका संरचनाको पुनर्निमाण, हुलाकी सडक, पूर्वपश्चिम सडक सुधारसहित देश विकासमा महत्वपूर्ण उपलब्धीहरु एमाले सरकारले प्राप्त गरेको उहाँले बताउनुभयो ।

“५ बर्षको पुरा अवधि काम गर्न एमाले सरकारलाई पूँजीवादीहरुको स्वार्थले दिएन । उनीहरुको स्वार्थ सिद्ध गर्न आफ्नैबाट घेराबन्दी गर्ने प्रयास भयो । उहाँले अगाडि भन्नुभयो, बिगतका कमी कमजोरीबाट पाठ सिक्दै सबै प्रकारका षडयन्त्रलाई परास्त गर्नु पर्ने छ ।”

आन्तरिक समस्यालाई उचालेर पूजीवादीतर्फ लागेर पार्टी र एमाले सरकारका विरुद्ध, अनुचित ढंगबाट अदालत र संसद प्रयोग भएका छन । यी घटनाको भित्री रहस्य कम्युनिष्टहरुलाई एकआपसमा लडाएर सर्वहारा वर्गको नेतृत्व गर्ने कम्युनिष्ट शक्तिलाई ध्वस्त पार्ने प्रयासका रुपमा काम गरिएको एमाले बुझेको ज्ञवालीले बताउनुभयो ।

निर्धारित समयमा स्थानीय तहको चुनाव हुनै नदिने र देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अझै भैरहेको भन्दै उहाँले नेपाली जनता सहग हुनु पर्ने बताउनु भयो । ज्ञवालीले एमसिसिको विषयमा सदनबाट पारित भइसकेको हुँदा बखेडा गर्ने अवस्थामा पार्टी नरहेको सुनाउनुभयो । राष्ट्र राष्ट्रियता र जनताको ईच्छा विपरित नहुने गरी श्रोतको उचित सदुपयोग गर्ने गराउने कुरामा नेकपा एमालेले निरन्तर खबरदारी गर्ने उहाँको भनाइ थियो ।

सदनमा भइरहेको अवरोध रहर नभइ बाध्यता भएको भन्दै उहाँले एमाले सिद्धयाउने अभिप्रायबाट ग्रसित गठबन्धन सरकारले सभामुखको पदीय भुमिकालाई मजाक बनाइउको र संसदीय संस्कार पद्धति विपरित काम भएकोले एमालेले विरोध गर्दै आएको छ ।

नेकपा एसतर्फ लागेका १४ सासंदहरुप्रति लक्षीत गर्दै एमाले उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, “आन्तरिक समस्यालाई मलजल सहित पार्टी फुटाउनेसम्मका गतिविधिमा संलग्नलाई पार्टीले कारबाही गर्न पाउनु पर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here