राजनीति निष्ठा र आर्दशका लागि गरिने एक पवित्र सामाजिक कार्य हो तर यही सामाजिक कार्यमा पनि धेरैको बद्मासी मात्रै होइन चरम बद्मासी र दाउपेच मात्रै बढी गर्ने गरेको पाइएको छ । नेपालको सवालमा कुरा गर्दा त राजनीतिमा बेइमान, अपराधी तथा नैतिकहिन व्यक्तिहरु मात्रै लाग्ने हो कि भन्ने जस्तो पनि देखिएको छ । पछिल्लो समय मुख्य ओहोदामा पुगेका राजनीतिक व्यक्तिहरुकोको व्यवहारले यस्तै देखिएको हो । नेपालमा राजनीतिक दलहरुको नेतृत्व तहमा शीर्ष नेतादेखि तल्लो तहमा रहेका अन्य नेताहरुको पारा हेर्दा जनता आजित भइसकेका छन् ।
अझै पछिल्लो समयको राजनीतिक अवस्था सहित केही नेताहरुको करतुत हेर्ने हो भने राजनीतिमा इमान्दारिता हुदैन कि भन्ने देखिन्छ । केपी ओलीले के गरे त्यसको राजनीतिक रुपमा छुट्टै बहस होला तर उनका कारणले केहीले राजनीतिक भविष्य अन्यौलमा पारेका छन् । मुलत जपसाका त्यत्तिबेलाका नेताहरु महन्थ ठाकुरहरु आर्दश नेता नभइ धुर्त नेता कहलिए । तर उनीहरुको धुत्र्याइँ सफल हुन पाएन ।
त्यसैगरी सत्तास्वार्थमा माओवादीबाट केही नेताहरु एमालेमा गए अनि माओवादीमा सत्ताका लागि फर्किएनन् केही नेता । अथवा जतिबेला केपी शक्तिशाली थिए उनीहरु उतै लागे तर अहिले प्रचण्ड शक्तिशाली हुने अवस्था आएपनि उनीहरु फेरि अनेकौं नाटक गर्दैछन् । यो राजनीतिक बेइमानी हो यस्तालाई बोकेर हिँड्दा पार्टी पनि सकिने निश्चित छ । त्यसैले पनि राजनीतिमा नैतिकतामा खडेरी पर्दै गएको सबैलाई महसुस हुन थालेको छ ।