सिमरा,वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीवार एक समारोहबीच मानव निर्मित एक सय ४ वर्ष पुरानो ऐतिहासिक सुरुङ मार्गको पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । वीरगन्ज (रक्सौल)– काठमाण्डौं जोडने त्रिभुवन राजपथ अन्तर्गत पर्ने सो सुरुङ्गमार्गको सन् १९१७ मा निर्माण भएको थियो ।

बारा र मकवानपुर जिल्लाको सिमानामा रहेको चुरीयामाई सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले ठेक्का लगाइसकेको छ । नेपाललाई संसारभर चिनाउन मद्दत गर्ने बारा र मकवानपुर जिल्लाको सिमा क्षेत्रको चुरे पर्वत श्रृखलामा पर्ने पहिलो सुरुङको पुनर्निर्माण शुरु गर्न शिलान्यास गरिएको हो ।

चुरीयामाईको सुरुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी हेटौँडा उपमहानगरपालिकाले पनि काम थालेको नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो । उपमहानगरले सुरुङका डिजाइन गर्ने इन्जिनियर डिल्लीजंग थापाको प्रतिमा यसअघिनै राखेको छ । यसको संरक्षण गर्दै विकासको काममा लागिएको नगर प्रमुख महतले बताउनुभयो ।

सन् १९१७ मा दक्षिण एसियाकै मानवनिर्मित पहिलो सुरुङ चुरियामाई सुरुङ बनेको थियो । श्री ३ चन्द्रशमशेरको पालामा नेपाली इञ्जिनियर डिल्लीजंग थापाले इञ्जिनियरिङ गरेको सुरुङलाई सम्पदाका रुपमा संरक्षणका लागि पुनर्निर्माण गर्न थालिएको हो । यसका लागि माउण्टेन इन्फ्रा कम्पनीको बोलपत्र स्वीकृत भएको छ ।

Leave a Reply