निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध किसान परिवारका सदस्यहरुको लागि आयोजना गरेको प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम शनिवार सम्पन्न भएको छ ।सहकारी संस्थाको कार्यालय भवनमा आयोजना गरिको सो तालिममा दुग्ध सहकारी संस्थामा आवद्ध किसानका २० जना छोराछोरी तथा बुहारीहरुको सहभागिता रहेको थियो । २ दिनसम्म चलेको सो तालिममा निजगढ ८ स्थित गौरीशंकर माविका शिक्षक खडकबहादुर श्रेष्ठ र लेखापाल रुद्र धिताले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।तालिममा विभिन्न कार्यालयमा पेस गरिने प्रस्तावना र कार्यक्रमको प्रतिवेदन लेख्ने सीपको बारेमा जानकारी दिइएको थियो । सहभागीहरुलाई संस्थाका अध्यक्ष थानेश्वर सापकोटा र कोषाध्यक्ष मोहन सापकोटाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


















