वीरगंज, २३ भाद्र ।
वीरगंजको घण्टाघरमा बुधबार केही मानिस भेला भए । भीडमा अधिकांश महिला थिए । सो भीडमा दुधे बच्चा च्यापेका महिलाहरु पनि सहभागी थिए । उनीहरुले नारा लगाउन थाले, ‘सुकुम्बासीलाई जग्गा देऊ, ‘सुकुम्बासीलाई घर देऊ, ‘चुरे दोहन बन्द गर ।’
नारा लगाउँदै उनीहरु माइस्थान आदर्शनगर हुँदै वीरगंज महानगरपालिका कार्यालय पुगे । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्ने उद्देश्यले उनीहरु त्यहाँ पुगेका थिए । तर तीनै जना कार्यालयमा थिएनन् । नगर प्रहरीले उनीहरुलाई महानगर कार्यालयमा प्रवेश गर्न दिएन । गेटमै रोकिदियो । त्यसपछि उनीहरु नाराबजारी गर्दै सडकमै बसे ।
चुरे तथा वन जंगल संरक्षण अभियान पर्साको आह्वानमा वीरगंजको विभिन्न वडाबाट जग्गा माग्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरु महानगर पुगेका हुन् । अभियानले वीरगंज– १, २, ७, ११, १६ र ३२ नम्बर वडाका भूमिहीनलाई जम्मा गरेर प्रदर्शन गरेको थियो ।
वीरगंज–११ श्रीपुरकी पुनम देवी १४ महिनाको छोरी बोकेर नाराबाजी गर्दै थिइन् । ३० वर्षदेखि भाडामा बस्दै आएकी उनको परिवारमा कसैको पनि नाममा एक धुर जमिन छैन । ‘ज्याला मजदुरी गरेर जीवन गुजार्नुपर्छ, त्यसमा पनि मासिक ५ हजार भाडा नै तिर्नुपर्छ,’ उनले भनिन्, ‘यस्तो महँगीको समयमा हामी गरिब कसरी बाँच्ने ?’
बजार छपकैयाकी नाघुदेवी ९ महिनाको छोरा काखी च्यापेर नाराबाजी गर्दै थिइन् । भाडाको कोठामा बस्दै आएकी उनको श्रीमान पनि ज्याला मजदुरी गर्छन् । ‘कमाएको पैसा भाडा तिर्न र खानमा खर्च हुन्छ । जोगाउन सकेको पनि छैन,’ उनले भनिन्, ‘सरकारले भूमिहीनलाई एक पटकलाई जमिन दिन्छ भन्ने सुने, ५÷१० धुर जमिन मिल्यो भने राम्रो हुन्थ्यो भनेर आन्दोलनमा आएकी हुँ ।’
वीरगंज–१६ कि ममता देवी, वीरगंज–९ की पिंकी मली पनि जग्गा पाउने आशमा आन्दोनलनमा सरिक भए । ‘घरद्वार छैन, जग्गा जमिन छैन । चारैतिर सुकुमबासीले जग्गा पाएको भनेर सुनिन्छ । कतिपयको त सरकारले नै घर बनाई पनि दिएको छ,’ ममताले भनिन्, ‘हामीले मात्रै नपाउने किन ? के गरिबको कुनै मूल्य छैन ?’
वीपी उद्यानको जमिनमा बस्दै आएकी पिंकी भन्छिन्, ‘बल्ल बल्ल घर बनायो, महानगरपालिका आएर बेला बेलामा भत्काइदिन्छ । आमा बुबा, सासु ससुरा सबैसँगै छौं, जाने अन्त ठाउँ छैन, कतै एक धुर जमिन छैन । गरिबको दशा छ ।’ ज्याला मजदुरी गरेर आएको कमाइ तीन सन्तानलाई हुर्काउनमा खर्च हुने बताउँदै उनले सरकारले सुकुम्बासीलाई जमिन दिन लागेको हो भने आफूले पनि पाउनुपर्ने बताइन् । महानगरपालिकाको स्वामित्वमा रहेको विपी उद्यानको डोम समुदायका केही मानिसहरु धेरै वर्षदेखि बसोबास गर्दै आएका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियान पर्साका अध्यक्ष सञ्जय साहले वीरगंज महानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्यालाई बेवास्ता गरेकोले दबाव दिइएको बताए ।
‘भूमि आयोगसँग सम्झौता गरेर पनि वीरगंजले काम अघि बढाएको छैन । त्यसैले दबाव दिन प्रदर्शन गरेका हौं,’ उनले भने, ‘भूमिहीन दलित, सुकुमबासीले जग्गा नपाउँदासम्म दबावमुलक कार्यक्रम गरी नै रहन्छौं ।’
चुरेको संरक्षण हुनुपर्ने पनि अभियानको मुख्य माग मध्येकै एक रहेको उनको भनाइ छ ।
अभियानकी सह संयोजक रानी रायले राजनीतिक दलको प्राथमिकतामा भूमिहीन दलित, सुकुमबासीको मुद्दा नपर्ने गरेको बताइन् ।
‘राजनीतिक दलले सुकुम्बासीलाई भोट बैंकको रुपमा प्रयोग गर्छ । तर पीडा बुझ्न सक्दैन,’ उनले भनिन्, ‘ जबसम्म उनीहरुलाई जमिन मिल्दैन विरोध प्रदर्शनहरु भइरहन्छ ।’
त्यसो त वीरगंज महानगरले भूमिहिन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि केही नगरेको भने होइन । राष्ट्रिय भूमि आयोगसँग तत्कालीन मेयर विजयकुमार सरावगीले नै सम्झौता गरेका थिए । आयोगले दुई पटक ३५ दिने सूचना पनि निकालेको हो । स्थानीय तहको निर्वाचन नजिकिए पछि ९ वैशाखमा दोस्रो सूचनाको म्याद बाँकी रहँदै आयोगले फर्म संकलन कार्य स्थगित गर्ने सूचना जारी ग¥यो ।
महानगरले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र स्थापना पनि गरेको छ । केन्द्रका प्रमुख भोगेन्द्र चापागाईंका अनुसार केन्द्रले आवश्यक कागजात सहित प्रक्रिया पूरा भई आएका पुराना फाइल संकलन गरेर आयोगको सिस्टममा प्रविष्टि गरिरहेको छ । भने महानगर स्तरीय सहजीकरण समिति गठनको प्रक्रिया अघि बढाएको छ ।
‘१३, २३, २४, २५, २६, २९ गरी ६ वटा वडाबाट १५० वटा फर्म सेवा केन्द्रमा आएका छन् । १३ नम्बर वडाको १८ जनाको आवश्यक कागजात सबै रहेकोले प्रविष्टि सुरु गरेका छौं । अन्य वडाबाट आएका मध्ये कतिपयमा सही छैन, कतै नागरिकता समावेश छैन,’ सेवा केन्द्र प्रमुख चापागाईंले भने, ‘त्यसलाई मिलाउनुपर्ने छ । आयोगले पुनः सूचना निकालेपछि छुटेको फर्म संकलन गर्छौं ।’
दलित भूमिहीन, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको हितका लागि महानगरले निर्वाह गर्नुपर्ने भूमिकामा कमी हुन नदिने आश्वासन उनले दिए । सेवा केन्द्र प्रमुख चापागाईंको आश्वासन पछि प्रदर्शनकारीहरु आवश्यक पर्दा पुनः दबाव दिन आउने भन्दै घर फर्किएका छन् । अनलाइन खबर