पुष्पराज खतिवडा
मनहर्वा,कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल बनाउने षडयन्त्रसहित घेराबन्दीमा पार्ने काम भइरहेको बताउनुभएको छ । गृहजिल्ला बाराको सिमरामा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा मन्त्री साहले राम्रो काम गरेर जनताको मन जितिरहनुभएका प्रधानमन्त्री ओलीलाई असफल बनाउने प्रयास भइरहेको बताउनुभएको हो ।
ओलीबिना देशको समृद्धि कल्पना गर्न नसकिने उहाँको भनाइ थियो । देशलाई प्रधानमन्त्री ओलीको अझै २०÷२५ वर्ष खाचो रहेको भन्दै साहले आफू मरेर भएपनि प्रधानमन्त्रीलाई बचाउन तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीमाथि आएको ज्यान मार्ने धम्कीप्रति लक्षित गर्दै साहले अराजक र गलत प्रवृतिको सधै विरोध गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले प्रदेश नम्बर २ की अध्यक्ष समेत रहनुभएकी साहले प्रचण्डलाई आफूले नभई प्रचण्डले आफूलाई छोडेर गएको बताउनुभयो । पार्टी एकताले मान्यता नपाएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिदै गर्दा साहले एमाले रोजनु भएको थियो ।
साहले एमाले राजेपछि माओवादी केन्द्रले उहाँलाई प्रदेश २ प्रदेशसभा सदस्य पदबाट समेत हटाएको थियो । प्रदेशसभा सदस्य पद गुम्ने निश्चित भएपनि एमाले रोज्नु भएकी साहले प्रचण्ड गुटगत राजनिति र परिवारवादमा रमाउन खोजेको बताउनुभयो । मन्त्री साहले अब केही समय किसानको समस्या समाधानका निम्ति आफू सक्रिय भएर लाग्ने बताउनुभयो । किसानले भोग्नुपरेको सिचायी अभाव, बिउबिजन र मलखादमा सहुलियतको समस्या, माटो परीक्षणलगायत थुप्रै काम तत्कालै गर्न आवश्यक रहेको बताउनुभयो । देशमा अधिकांश नागरिक कृषिमा निर्भर रहेकाले दिर्घकालिन योजनासहित अघि बढ्न जरुरी रहेको मन्त्री साहको भनाइ छ । उहाँले प्रदेश २ मा भैसीपालन सम्बन्धी अनुसन्धान केन्द्रको आवश्यकता देखिएको र यसका लागि आफूले योजना बनाउन लागेको जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, फसल योजना बिमा, पशुपालन, दुग्ध किसानका लागि काम गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वतीदेवी चौधरीलगायत एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।