करिब चार वर्षदेखि स्थानीय तहको जिम्मेवारी जनप्रतिनिधिहरुले सम्हालेका छन् । जनताको प्रतिनिधिले नै शासन सत्ताको बागडोर सम्हालेपछि जे भएपनि जनताप्रति जवाफदेही हुनका लागि उनीहरुलाई बाध्य पनि बनाउने गरेकै छ । त्यसो त जनप्रतिनिधिहरुले शासन भनौं वा सरकारले संचालन गरेपनि कर्मचारीतन्त्रको हालीमुहाली भने अझै अन्त्य भएको छैन ।
हुनत यो समस्याबाट प्रधानमन्त्रीदेखि मन्त्रीहरु समेत प्रताडित भएको कुरा बेला बेलामा खबर आउने गरेको छ । त्यसैले गाउँपालिका वा नगरपालिकाका प्रमुखहरु पनि यो रोगबाट मुक्त होलान् भनेर भन्न सकिने अवस्था छैन । यस्तै मध्येमा बाराको सुवर्ण गाउँपालिका पनि देखिएको छ । बाराको सुवर्ण गाउँपालिकाका प्रशासकीय अधिकृतले आफ्नो स्वार्थ पूरा हुन नपाएपछि लथालिंग बनाएको पाइएको छ ।
उनले नियत नै खराब बनाएर गाउँपालिकाको बेइज्जत गर्न लागि परेको समेत पाइएको छ । कर्मचारीको नाउमा उनले गरेको हर्कत आफैमा आपत्तिजनक पनि छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले उनलाई कारवाही गर्न सक्ने अधिकार नै छैन । त्यसैले पनि उनको मनलाग्दी बढेको हो । यस्ता कर्मचारीहरुलाई सबक सिकाउनका लागि जनप्रतिनिधिहरुले ढिला गरे भने उनीहरुलाई नै अभिषाप हुने निश्चित छ ।