गोकुल घोरसाइने
निजगढ,पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको एउटा बघिनीको मृत्यु भएको छ । निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा पोथी बाघको मृत्यु भएको हो ।निकुञ्ज कार्यालय आदाभारका सूचना अधिकारी सूर्य खडकाका अनुसार खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले गत बिहीवार बघिनीलाई मृत फेला पारेका थिए । उक्त बाघ पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरबाट नियन्त्रणमा लिएर खोरमा राखिएको हो । निकुञ्जको जंगलबाट निस्किएर बस्तिमा स्थानीयलाई आक्रमण गर्ने र चौपायसमेत खान थालेपछि बघिनीलाई २ महिनाअघि नियन्त्रणमा लिइएको खडकाले जानकारी दिनुभयो ।‘नियन्त्रणमा लिदा स्वस्थ र हट्टाकट्टा नै थियो, सूचना अधिकारी खडकाले भन्नुभया, तर केही समययता आहारा कम खाने गरेकोले निक्कै दुब्लाएको थियो ।’ सो बाघले सुर्वणपुरमा नै गत वर्ष एकजना स्थानीयको ज्यान पनि लिएको उहाँले जानकारी दिनुभयो ।बघिनीको उमेर करिव ८-९ वर्ष रहेको पनि बताइएको छ । खडकाले एउटा स्वस्थ बाघ १३÷१४ वर्षसम्म बाच्ने पनि जानकारी दिनुभयो । सामान्यतया शारीरिक रूपमा कमजोर भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि आहाराको खोजीमा बाघ बस्तिमा प्रवेश गर्ने उहाँको भनाई छ ।खोरमा राखिएका अन्य २ वटा भाले बाघको अवस्था भने सामान्य रहेको बताइएको छ । त्यसमध्ये एउटा बाघ पनि खोरको अभावमा चितवन राष्ट्रिय निकुञ्जबाट पर्सामा ल्याएको र अर्को पर्साको ग्रामीण भेगबाट नै नियन्त्रणमा लिइएको हो ।निकुञ्ज कार्यालयका अनुसार राख्ने ठाउँको अभावमा दुई वटा बाघ राख्ने क्षमता भएको खोरमा ३ वटा बाघ राखिएको हो ।