वीरगन्ज,वीरगन्जमा केहि दिन यताफेरि कोरोना भाइरस संक्रमणको परीक्षण गराउनेहरुको संख्या ह्वात्तै बढेको छ । कोरोनाको परीक्षण हुदै आएको पर्साको वीरगन्जस्थित एक मात्र नारायणी अस्पतालको प्रयोगशालामा ४ दिनयता पीसीआर परीक्षण गराउनेको संख्या ह्वात्तै बढेको हो ।

दोश्रो लहरको संक्रमण दर कम हुदै गएपछि जेठ तेश्रो साता यतादेखि नारायणी अस्पतालको प्रयोगशालामा कोरोनाको परीक्षण गराउनेको संख्या पनि निक्कै कम भएको थियो । तर साउन ७ गतेदेखि फेरि नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गराउनको संख्या ह्वात्तै बढेको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा साउन ७ गते एकै दिन ३ सय २० जना, साउन ८ गते ८४, साउन १० गते १ सय ४९ र साउन ११ गते १ सय १ जनाले कोरोनाको परीक्षण गराएका छन् ।

पछिल्लो ४ दिनमै ६ सय ५४ जनाको स्वाब परीक्षण गरिएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताउनुभयो । कोरोनाको परीक्षण गराउनेको संख्या बढेपनि संक्रमण पुष्टि हुनेको संख्या भने निक्कै कम रहेको उहाँले बताउनुभयो । चार दिनमा ६ सय ५४ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा मात्र अर्थात १.०७ प्रतिशतमा मात्र संक्रमण भेटिएको डाक्टर सिंहले बताउनुभयो । डाक्टर सिंहका अनुसार यसअघि एक हप्ताको अवधिमा अर्थात अषाढ ३१ देखि साउन ५ गतेसम्म २ सय ५६ जनाले मात्र अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए । ती मध्ये ६ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।

वीरगन्ज र यस आसपासको क्षेत्रमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएको इन्फ्लुएन्जा ए को संक्रमण फैलिएका कारणले पनि पीसीआर परिक्षण गराउनेको संख्या ह्वात्तै बढ्को डाक्टर सिंहले बताउनुभयो । अषाढको अन्तिम सातादेखि वीरगन्ज र यस आसपासको क्षेत्रमा इन्फ्लुएन्जा ए को प्रकोप नै फैलिएको डाक्टर सिंहले बताउनुभयो । कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिने स्वास्थ्य समस्या भएका बिरामीहरुको चाप अस्पताल र क्लीनकहरुमा बढेको भन्दै उहाँले नारायणी अस्पतालमा मात्रै दैनिक त्यस्ता लक्षण भएका ५० भन्दा बढि बिरामी उपचारका लागि आइरहेको जानकारी दिनुभयो । नीजी क्लीनकहरुमा पनि त्यस्ता लक्षण भएका बिरामीहरुको संख्या अत्याधिक रहेको डाक्टर सिंहले बताउनुभयो । जटिल अवस्थाका त्यस्ता बिरामीले कोरोनाको आशंकामा स्वाबको परिक्षण गराउन थालेकाले पनि नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गराउनेको संख्या ह्वात्तै बढेको डाक्टर सिंहले बताउनुभयो । तर उनीहरुमध्ये अधिकांशको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी पनि उहाँले दिनुभयो ।

वीरगन्जका चिकित्कहरुका अनुसार वीरगन्ज र यस आसपासको क्षेत्रमा असषाढ अन्तिम सातायता कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको इन्फ्लुएन्जा ए को संक्रमण फैलिएको पुष्टि भएको छ । नारायणी अस्पतालमा उपचारका लागि आएका मध्ये ५ जनाको स्वाब नमूना काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ती मध्ये ४ जनामा इन्फ्लुएन्जा ए एचथ्रि संक्रमण पोजेटिभ देखिएको डाक्टर सिंहले बताउनुभयो । ५ मध्ये ४ जनामा इन्फ्लुएन्जा ए एचथ्रि पुष्टि भएकाले यो संक्रमण प्रकोपकै रुपमा फैलिएको निष्कर्षमा आफुहरु पुगेको डाक्टर सिंहले बताउनुभयो । डाक्टर सिंहका अनुसार इन्फ्लुएन्जा ए संक्रमण भएका १ सयजना मध्ये ९० जना आफै निको हुने गर्दछन् । १० प्रतिशत बिरामीमा मात्र जटिल अवस्था देखिन्छ । तर कोरोनासंग मिल्दो जुल्दो लक्षण हुने भएकाले समयमै परीक्षण गरि इन्फ्लुएन्जा ए को संक्रमण भएको पहिचान गरिएन भने यसले अवस्था भयवाह हुन सक्ने जोखीम रहेको डाक्टर सिंहले बताउनुभयो । इन्फ्लुएन्जा ए बाट बच्नका लागि पनि भिडभाडमा नजाने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने वा साबुन पानीले समय समयमा हात धुने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्नुपर्ने सुझाव डाक्टर सिंहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here