रौटहट,२० वर्ष कटेपछि छोरीको विवाह गरिदिने अभिभावकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
सामुदायीक भवन गंगापिपरामा दुर्गा भगवती गाउँपालिकाद्धारा आयोजित कार्यक्रममा गाउँ पालिका अध्यक्ष शम्भु सिहले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।दुर्गा भगवती गाउँपालिकाका अभिभावकहरुले २० वर्षपछि छोरीको विवाह गरेमा सम्मान तथा पुरुस्कार दिने चुनावी घोषणा अनुरुप वडाका २०७९ साल साउनदेखि २०८० असार सम्ममा विवाह गर्ने अभिभावकलाई पुरस्कार दिएको उहाँले बताउनुभयो ।
उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विवाह गर्दा मानसिक तथा शारिरिक समस्या आउने गरेकाले बालबिवाह रोक्नु पर्ने अध्यक्ष सिहले बताउनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष रामानन्द राय यादव, वडा नम्बर ३ का डिके झा, वडा नम्बर ५ का धर्मेन्द्र चौधरी लगायत वडा नम्बर २ र १ का वडा अध्यक्ष तथा वडा सचिवहरुलाई बाल विवाह न्यूनीकरणमा योगदान पुर्याएकोले सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकलगायतका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा बाल बालिकाहरुले बाल विवाह न्यूनीकरण गर्नका लागि चेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक अभिनय सिह, वडा अध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरीले आआफनो मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय गौरका प्रमुख अभिनय सिह, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा, अग्रज पत्रकार प्रभातकुमार झा, पत्रकार आलोक पाण्डे, चञ्चल झा, पवनराज गुप्ता लगायतलाई अध्यक्ष सिहले सम्मान गर्नुभएको थियो ।



















