मनोज शाह
जीतपुर,बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ३ का पूर्व माओवादी पार्टीका उपाध्यक्ष इम्प्याज आलमसहित दर्जनौँ नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै आलमले पूर्व माओवादी पार्टीले विवादित तथा गम्भीर आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाएपछि आफूहरू बाध्य भएर पार्टी त्याग गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन उम्मेदवारलाई टिकट दिइयो, उहाँका बुवा हत्या आरोपमा थुनामा पर्नुभएको थियो । त्यसैले हामीले पार्टी छाड्यौं ।”एमाले देश बनाउने पार्टी भएको र एमाले जिते देश र समाज बन्ने विश्वासका साथ आफूहरू सामूहिक रूपमा प्रवेश गरेको उहाँको भनाई थियो ।पार्टी प्रवेश गर्ने नेता–कार्यकर्तालाई बारा निर्वाचन क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले माला, खादा र टीका लगाएर स्वागत गरेका थिए। सो अवसरमा उम्मेदवार श्रेष्ठले “हामी भाषणमा होइन, काम गरेर देखाउने पार्टी हौं । सुख–दुःखमा सधैं जनतासँगै रहनेछौं,” भन्दै जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मोबिन आलमले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बारा क्षेत्र नम्बर ४ का उम्मेदवार रहबर अन्सारीप्रति लक्षित गर्दै एमसीसी, लिपुलेक, राजतन्त्र–लोकतन्त्र र धर्मनिरपेक्षताजस्ता राष्ट्रिय मुद्दामा किन मौन बसेको भन्दै आलोचना गर्नुभयो ।

















