वीरगन्ज,साउथ जोन मावि, वीरगन्जमा जारी दोश्रो मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आदर्शनगर रंगशालामा सोमबार भएको दोश्रो सेमीफाइनल खेलमा त्रिजुद्ध माविलाइ ५३ रनले पराजित गर्दै साउथजोन माविले फाइनलमा आफनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले व्याटिंग गरेको साउथ जोन माविले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । १०५ रनको लक्ष्य लिएर जवाफी व्याटिंगमा उत्रिएको त्रिजुद्ध माविले १४ ओभर ३ बलमा अलआउट हुदै ५१ रन मात्र बनाएपछि खेल साउथजोन माविले जितेको हो । सोमबारको खेलको म्यान अफ दी म्याच साउथजोन माविका फारुख शेख घोषित हुनु भएको छ । उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा साउथ जोन मावि र मनकामना माविबीच प्रतिस्पर्धा हुने वीरगन्ज महानगरपालिकाको खेलकुद निर्देशक प्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि आइतबार भएको पहिलो सेमीफाइनल खेलमा ग्रिनल्याण्ड माविलाई ९ विकेटले पराजित गर्दै मनकामना माविले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।