कृष्णउदास खनाल

वीरगन्ज,२०७४ सालमा सम्पन्न भएको आम चुनावमा पर्साको सबै निर्वाचन क्षेत्र गुमाएको नेपाली काँग्रेसले यस पटकको चुनावमा भने आफ्नो विरासत केही भए पनि फर्काएको छ ।

पर्सा जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र छन । २०७४ को निर्वाचनमा काँग्रेसले चार वटै प्रतिनिधि सभा क्षेत्र र ८ मध्ये ६ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको थियो । मंसिर ४ मा भएको निर्वाचनमा भने पर्सामा काँग्रेसका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पर्सामा ३ प्रतिनिधि सभा र ४ प्रदेश सभा सदस्यमा गरि काँग्रेसका पाँच जना उम्मेदवार थिए । त्यसमध्ये २ प्रतिनिधि सभा सदस्य र ३ प्रदेश सभा सदस्यमा काँग्रेसले जितेको हो ।

जनता समाजवादी पार्टी (जसपा) ले भने १ प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य जित्दा नेकपा एमालेले भने १ प्रतिनिधि सभा सदस्य मात्र जितेको छ । नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र स्वतन्त्र उम्मेदवारले भने १÷१ प्रदेशसभा सदस्य मात्र जितेका छन् ।

२०७४ को निर्वाचनमा पर्सामा जसपा (तत्कालानी संघीय समाजवादी फोरम) ले ३ प्रतिनिधि सभा सदस्य र ५ प्रदेश सभा सदस्य जित्दा काँग्रेसले २ प्रदेश सभा सदस्य मात्र जितेको थियो । लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टीले) १ प्रतिनिधि सभा सदस्य र १ प्रदेश सभा सदस्य जितेको थियो ।

मंसिर ४ मा भएको निर्वाचनमा जिल्ला सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको काँग्रेसले पर्सा २ र ४ को प्रतिनिधि सभा सदस्य तथा पर्सा २ को (क), ३ को (ख) र ४ को (क) मा प्रदेश सभा सदस्य जितेको हो । पर्सा २ को प्रतिनिधिसभा सदस्यमा काँग्रेसका अजय चौरसिया निर्वाचित हुनुभएको छ । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित हुनुभएको हो ।

२०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बन्नुभएको थियो । २०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित हुनुभएको थियो ।

पर्सा ४ को प्रतिनिधि सभा सदस्यमा पनि काँग्रेसकै रमेश रिजाल विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँलाई ५ हजार ५ सय ३० मतको अन्तरले पराजित गर्दै रिजाल निर्वाचित हुनुभएको हो ।

२०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका काँग्रेस केन्द्रिय सदस्य रिजाल चौथो पटक सांसद बन्नु भएको हो । पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा भने नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित हुनु भएको छ । गुप्ता, काँग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै विजयी हुनु भएको हो । गुप्ता दोश्रो पटक संसदमा छिर्न लाग्नु भएको हो ।

यसअघि २०७० को संबिधान सभाको चुनावमा उहाँ बिजयी हुनु भएको थियो । पर्सा क्षेत्र नम्बर १ मा भने जसपाका प्रदीप यादव निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नुभएको थियो । काँग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । यादव र द्धिवेदीबीचको मतान्तर १ हजार ६ सय २० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ ।

यसअघिको चुनावमा भने कर्ण पर्साकै क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सदस्यतर्फ काँग्रेसका चार मध्ये तीन जना उम्मेदवार जित हात पार्न सफल भएका छन् । पर्सा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नम्बर १ (ख) मा मुख्यमन्त्री समेत रहेका जसपा उम्मेदवार मोहम्मद लालबाबु राउत गद्दी पुनः निर्वाचित हुनुभएको छ ।

पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेश सभा सदस्यमा काँग्रेसका श्याम पटेल निर्वाचित हुनु भएको छ । पर्सा क्षेत्र नम्बर २ (ख) को प्रदेश सभा सदस्यमा लोसपाका रमेश कुर्मी पुन निर्वाचित हुनु भएको छ । पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी हुनु भएको छ । पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा काँग्रेसका जनार्दन सिंह क्षेत्री निर्वाचित हुनु भएको हो ।

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेश सभा सदस्यमा काँग्रेसका शंकर चौधरी पुनः निर्वाचित हुनुभएको छ । पर्सा क्षेत्र नम्बर ४ (ख) मा जसपाका उम्मेदवार सिंहासन सा कलवार पुनः निर्वाचित हुनु भएको छ । यसरी हेर्दा पर्सामा कुनै समय ठूलो दल रहेको काँग्रेसले अहिले आफ्नो बिरासत जोगाउन सफल भएको छ भने एमालेले पनि प्रतिनिधि सभामा खाता खोलेको छ भने चारै क्षेत्रमा जीत निकालेको जसपा भने यस पटक एउटा सिटमा खुम्चिएको छ ।

Leave a Reply