एक विशेष परिस्थितिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि यो मुलुकको कार्यकारी प्रमुख पदमा पुगेका छन् । नेपाली काँग्रेसको मात्रै बलले यो सफल भएको त होइन यद्यपि शेरबहादुरका लागि भने एमाले र समग्रमा कम्यूनिष्टभित्रको विवाद खुदो भएको छ । देउवा विशिष्ट अवस्थामा यो मुलुकको कार्यकारी पदमा आसिन भएका छन् ।
यो अर्थमा उनका लागि अवसर भन्दा बढी चुनौती नै छन् । उनले पहिलो पटक नै कोरोनाविरुद्धको खोप आम नागरिकहरुलाई लगाउने निर्णय गरेका छन् । देउवा सरकारको पहिलो मन्त्री परिषदको बैठकले गरेको यो निर्णय ओलीको पालाको जस्तो गफमा सीमित नहोस् । असोजसम्ममा लक्ष्य राखिएको छ । यसका लागि सरकराले युद्ध स्तरमा काम गर्न आवश्यक छ ।
सामान्य तरिकाले वा कुरा मात्रै गरेर यो अभियानमा सफलता हासिल हुन सक्दैन । त्यसैले पनि देउवा सरकारले भनेको समयमा नै नागरिकहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्छ र आम नागरिकहरुलाई कोरोनाबाट जोगाउनु पनि पर्दछ । गफ भन्दा काम गरेर यो सरकार लोप्रिय बन्न सकेन भने जनताको लागि बेल पाक्यो कागलाई हर्ष न बिस्मात भने जस्तो हुने छ ।