नरेश गुप्ता
बरियारपुर,स्थानीय तह निर्वाचनको क्रममा आइतवार लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट बाराको दुई पालिकाको प्रमुख पदमा २ जनाले मनोनयन पत्र दर्ता गरेका छन ।
बाराको देवताल गाउँपालिकामा लोसपा नेपालबाट अध्यक्ष पदमा चन्दन सिह र उपाध्यक्षमा रमापती देबीले मनोनयन पत्र दर्ता गराएको सहायक निर्वाचन अधिकृत सिकिन्द्र साहले जानकारी दिनुभयो । सो पालिकामा लोसपाबाट वडा अध्यक्षमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी देवताल गाउँपालिकामा सुशासन पार्टी नेपालबाट गाउँपालिका अध्यक्षमा हरेराम बैठाले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल सद्भवाना पार्टीबाट समेत फेटामा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराइएको छ । पालिकामा स्वतन्त्रबाट समेत दुई जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी बाराको ऐतिहासिक नगरी सिम्रौनगढमा आधुनिक नेपाल समाजवादी पार्टीबाट नगर प्रमुख पदमा भागरित साहले मनोनयन दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी लोसपा नेपाल सिम्रौनगढ नगर अध्यक्ष किशोरीप्रसाद साहले नगर प्रमुखसहित ११ वटै वडामा अध्यक्ष र वडा समितिको सदस्य पदमा मनोनयन पत्र गरेको निर्वाचन कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
बाराका १६ वटै स्थानीय तहहरु मध्ये कलैया उपमहानगरपालिकामा बिवेकशील साझा पार्टीबाट शिवजी साह कानुले नगर प्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीबाट बाराका अध्यक्ष मुक्ति यादवले कलैया उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा रजनी देबी शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कलैया उपमहानगरपालिकाको उपमेयर पदमा तुककुमारी दाहालसहित वडा अध्यक्षमा १४ जना पुरुष र ८ जना महिला, ३ जना दलित र १८ जनाले राप्रपा नेपालबाट उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी लोसपा नेपालबाट बिश्रामपुर गाउँपालिकामा अध्यक्षमा १ जना वडा अध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी जनमत पार्टीबाट पचरौता नगरपालिकामा नगर प्रमुखको लागि जुमा हुसेन अंसारी लगायत वडा १, ६ र ७ मा वडा अध्यक्षमा उम्मेदवार खडा गरेको छ ।
प्रसौनी गाउँपालिकामा अध्यक्ष पदको लागि दुईजना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन । प्रसौनी गाउँपालिकामा दुई÷दुई जना स्वतन्त्रले उम्मेदवारी दर्ता गरेपछि चुनावी महौल रोचक भएको स्थानीयहरु बताउछन् ।
निर्वाचन आयोगको कार्यालयले स्थानीय तहको निर्वाचनलाई सहज बनाउन तथा उम्मेदवारी दर्ता गराउन दुई दिनको समय दिएको छ । पहिलो दिन आइतवार केही राजनीतिक दलका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन ।
पाँच दलीय गठबन्धन र विभिन्न पार्टीभित्र टिकट वितरणमा देखिएको बिवादले मनोनयन दर्तामा ढिलाइ भएको छ । सोमबार पाँच बजेसम्म मनोनयन पत्र दर्ता गरिने निर्वाचन कार्यालयले जनाएको छ ।