निजगढ,नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको १३२ केभी प्रशारण कन्डक्टर अपग्रेडिङ आयोजनाले निजगढ क्षेत्रका केही स्थानहरूमा दुई दिन विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।प्राधिकरणको सूचनाअनुसार पिलुवा–नवलपुर १३२ केभी प्रशारण लाइनमा प्रयोग भएका पुराना कन्डक्टर टिएफ कनिक्टर तथा एसेसरिजहरूलाई नयाँ सामग्रीले प्रतिस्थापन गरी प्रणाली सुधार गर्ने कार्य भइरहेकाले निजगढ ३३ केभी सबस्टेसनमार्फत विद्युत आपूर्ति हुने क्षेत्रमा सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले दिएको जानकारी अनुसार असार ४ गते बुधवारदेखि असार ५ गते बिहीवारसम्म बिहान ६ः०० बजेबाट साँझ ७ः०० बजेसम्म दैनिक १३ घण्टा विद्युत आपूर्ति अवरुद्ध रहनेछ ।विद्युत आपूर्ति अवरुद्ध हुँदा निजगढ नगरपालिकाको बजार क्षेत्र, निजगढ नगरपालिका वडा ७, सहिद चोक उत्तरतर्फ भण्डारी टोल, अवतार टोल, सडक टोल, घियाल टोल पश्चिम माझी टोल, नगरपालिका रुट, योजना टोल, लखन (नेत्रोदय) चोक, गणेश मन्दिर पूर्वतर्फका स्थानहरू प्रभावित हुनेछ ।प्राधिकरणले विद्युत आपूर्ति न्यूनतम प्रभावित हुने गरी वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको उल्लेख गर्दै निर्धारित समयभन्दा पहिले कार्य सम्पन्न भएमा लाइन सञ्चालनमा ल्याइने जानकारी पनि गराएको छ ।

Leave a Reply