काठमाण्डौ,नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
यसअघि बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको हो । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरि देवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएको थियो । त्यसपछि नियुक्ति पत्रमा सच्याएपछि देउवाले शपथ लिनुभएको हो ।
यसैबीच प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त हुनुभएको छ, उहाँ रुपन्देहीबाट समानुपातिक सांसद हुनुहुन्छ । यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त हुनुभएको छ । उहाँ रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि गृह र ऊर्जा मन्त्री बनिसक्नुभएको छ । यस्तै मंगलबार नै माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ ललितपुर ३ बाट निर्वाचित हुनुभएको हो ।