राजन कुमार बनिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जस्तापाताले छाएको छानामा अंदाजी २२÷२३ वर्षका युवकको शव फेला परेको हो । शव फेला परेका युवकको पहिचान भने खुल्न सकेको छैन ।

शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । भदौ १७ गते बिहीबार राति लंगडीमै रहेको एनआइसी एसिया बैंकको उपशाखामा चोरी भएको थियो । त्यहि बैंक नजिकको मनि ट्रान्सफर भएको घरको छानामा आइतबार बेलुकी युवकको शव फेला परेको हो ।

मृत भेटिएका युवक गत बिहिबार राति एनआइसी एशिया बैंकमा भएको चोरी गर्ने समूह मध्येकै रहेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । बैंकमा चोरी गर्ने समुहले मनी टान्सफरमा समेत चोरी जाने क्रममा छानाको जस्तापाता उप्क्याएर भित्र छिर्ने क्रममा बिजुलीको नाङगो तार छोइएर करेन्ट लागेर ती युवकको मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ । शव सडेर गन्हाउन थालेकाले पनि घटना दुई तीन दिन पहिलकै भएकाले थप आशंका उत्पन्न भएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरको कार्यालयमा चोरी गर्न गएको र त्यस क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । गत बिहीबार राति लंगडीमै रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा चोरहरुले बैंकको मुल गेटको सटर नै फोडेर भित्र पसेका थिए । बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको वेल्डिङ मेसिनले सटर काटेर भित्र पसेका थिए । चोरहरुले लकर पनि तोड्ने कोसिश गरेको तर त्यही बेला बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि चोरहरु आफनो योजनामा सफल हुन नसकेर भागेका थिए । बिहीबार राति बैंकमा भएको चोरी र आइतवार बेलुकी मनिट्रान्सफरमा युवकको शव भेटिएपछि घटना अझ शंकास्पद देखिएकाले प्रहरीले दुवै घटनालाइ जोडेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here