सर्लाही – सर्लाहीमा बाग्मती नदीले बगाउँदा एक जनाको ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका–२ घर भएका ६६ वर्षीय शहीद रायलाई नदीमा आएको बाढीले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ ।पुल तर्न लाग्दा रायलाई नदीले बगाएपछि स्थानीयले उद्धार गरी अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाही हजरियामा रहेको खेतमा काम गर्न आउँदै रायलाई नदीले बगाएको स्थानीयले बताएका छन् ।त्यस्तै सर्लाहीको लखन्देही नदीमा आएको बाढीले सर्लाही कौडेना गाउँपालिकाको केही वडा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।सोमवार रातिदेखि परेको पानीले कच्ची सडक बगाउँदा सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा यातायात ठप्प भएका छन् ।यसैबीच रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।मंगलबार बिहान नदीपारि खेतमा काम गर्न गएका बेला बाढी आएपछि उनीहरू पारि नै रोकिएका थिए । मंगलबार बिहान सूचना पाएपछि नेपाली सेनाको पुरेनवास्थित वीरदल गणको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।लालबकैयामा अचानक बाढी आएपछि नदीको सतह बढेको र स्थानीय किसान भने बीचमै फसेका थिए ।



















