वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर २९ का स्थानीयबासीले चुनावमा जनप्रतिनिधिले गरेका बाचा अहिलेसम्म पनि पुरा गर्न नसकेको गुनासो गरेका छन् । वीरगन्ज महानगरपालिकाको कार्यालयले वडा नम्बर २९ बसडिल्वामा बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले यस्तो गुनासो गरेका हुन् । उनीहरुले महानगरमा समाहित भएको वडा नम्बर २९ मा अहिलेसम्म पनि स्वास्थ्य र शिक्षाको अवस्था नाजुक रहेको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी स्थानीयबासीले वडा नम्बर २९ मा अहिलेसम्म कालोपत्रे सडक नै नरहेको भन्दै यसतर्फ गम्भीर बनिदिन महानगर प्रमुख विजयकुमार सरावगीको ध्यानाकर्षण गराएका थिए ।
वडा नम्बर २९ मा तीन वटा गाँउ रहेको भन्दै स्थानीयले अहिले वर्षाका बेला तीन वटै गाँउबीच सडक सम्पर्क विच्ेछद भएको गुनासो पनि गरेका थिए । उनीहरुले वडा कार्यालयमै मालपोत कर तिर्ने व्यवस्था गरि दिन माग पनि गरेका थिए । यस्तै वडामा सार्वजनिक शौचालय, नालाको व्यवस्थित सरसफाइ, गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षकको दरबन्दी थप गरि गर्न पनि स्थानीयबासीले नगरप्रमख सरावगीसंग आग्रह गरेका थिए ।
भेडाहा खोलाले वर्षेनी कटान र डुबान गर्दै आएकाले यसको दीर्घकालीन सामधान गरिदिन पनि स्थानीयवासीले माग गरेका थिए । दलित र महिला सशक्तीकरणका लागि अहिलेसम्म कुनै सेवासुविधा र कार्यक्रम नै नभएको भन्दै स्थानीय दलितहरुले यसप्रति गम्भीर बन्न आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय हरिमन चौधरी, राधाकृष्ण यादव, बालेश्वरप्रसाद चौधरी, तुलसीप्रसाद महत्तो, बालेश्वरप्रसाद थारु, रामु राम, बलराम यादव लगायतकाले गुनासो राखेका थिए । कार्यक्रममा वडाबासीको गुनासो सुनेपछि नगरप्रमुख सरावगीले आफु निर्वाचित भए यता ४ वर्षको कार्यकालमा महानगरका ग्रामीण भेगका वडाहरुको पूर्वाधार विकासमा साधन श्रोतले भ्याएसम्म काम गरेको बताउनुभयो । उहाँले अबको बाँकी १ वर्षको कार्यकालमा पनि ग्रामीण भेगका वडाहरु आफनो प्राथमिकतामा रहेको बताउनुभयो । वर्षेनी दुःख दिदै आएको भेडाहा खोलामा पक्की बाँध निर्माणको लागि दुई÷तीन दिनमै टेण्डर प्रकृया शुरु हुने जानकारी दिदै यसका लागि महागरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा १० करोड ३८ लाख रुपैया विनियोजन गरिसकिएको उहाँले बताउनुभयो ।
नगरप्रमुख सरावगीले वडावासीले राखेका समस्या र गुनासो सम्बोधनका लागि आफुले सक्दो प्रयास गर्ने बताउनुभयो । वडा अध्यक्ष धर्मेन्द्र महत्तो थारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, योजना महाशाखा प्रमुख राकेश साह, प्रशासन शाखा प्रमुख विकास मिश्र लगायतको पनि उपस्थिति रहेको थियो ।
समायन्तर मिडिया प्रालिले संयोजन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमा उक्त संस्थाका अध्यक्ष ओमप्रकाश खनालले सेवाग्राहीहरुबीच गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मी खरेलले गर्नुभएको थियो ।