वीरगन्ज,नेपाल सरकारले दिएको निःशुल्क छात्रवृत्तिमा वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस पढिरहेका विद्यार्थीलाई कलेजले परीक्षा आवेदन फाराम भर्नबाट रोक लगाएको छ । सरकारी छात्रवृत्तिमा एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पङ्कज राम, चौथो वर्षमा अध्ययनरत् रूकेशकुमार राम र प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा फारम भर्न नदिएको हो । रामजी रामका अनुसार फारम भर्ने अन्तिम दिन मंगलबार कलेजले विभिन्न शीर्षकमा शुल्क माग्दै फाराम भर्नाबाट रोक लगाएको थियो । रामजीलाई कलेजले सोमबारसम्म विभिन्न शिर्षकमा ८ लाख ७३ हजार अतिरिक्त शुल्क बुझाउन भनेको थियो । मंगलबार परीक्षा, रजिस्ट्रेसनलगायत शुल्कबापत १ लाख ७३ हजार मागिएको उहाँले बताउनुभयो । भर्ना, ल्याब, लाइबेरी, वार्षिक शुल्क मिनाहा गरेर कलेजले अन्य शुल्क मागेको हो । उनीहरूलाई यसअघि पनि कलेजले अतिरिक्त शुल्क माग्दै परीक्षाबाट वञ्चित गर्ने प्रयास गरेको थियो । परीक्षा फाराम भर्न रोकेपछि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र चिकित्सा शिक्षा आयोगले नेसनल मेडिकल कलेजसँग स्पष्टीकरण मागेको छ । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव डिल्ली लुइँटेलले विश्वविद्यालय, डिन कार्यालय र सम्बन्धित कलेजलाई विद्यार्थीको आवेदन फाराम भराएर परीक्षा लिने वातावरण बनाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

Leave a Reply