राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउँदा प्राप्त हुने यातायात खर्च नपाएको स्थानीय महिलाहरुले बतएका छन् ।

स्वास्थ्य केन्द्रमा प्रसुति गराउँदा नेपाल सरकारबाट प्राप्त हुने यातायात खर्च नपाएको सुत्केरी महिलाहरुले गुनासो गरेका छन् । धोबिनी गाउँपालिका र वडा अध्यक्षको चरम लापरवाहीका कारण यातायात खर्च नपाएको महिलाहरुको आरोप छ । गत आर्थिक वर्ष २०७७÷७८ को असारसम्ममा प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरको बर्थिंग सेन्टरमा ९३ जना महिलाहरुले सुरक्षित प्रसुति गराएको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख छ ।

नेपाल सरकारको नियम अनुसार ती ९३ जनालाई यातायात खर्चवापत १ हजार र स्वास्थ्य संस्थामा ४ पटक चेकजाँच गराएको २ सयका दर ८ सय दिनुपर्ने हुन्छ । उक्त रकम हालसम्म पनि नपाएको गुनासो महिलाहरुको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि असोजसम्म ६५ जना महिलाहरुले प्रसुति गराएको स्वास्थ्य केन्द्रको बर्थिंग सेन्टरमा कार्यरत स्टाप नर्स प्रिया महासेठले जानकारी दिनुभयो ।

गाउँपालिकाले रकम पठाइसकेको भएपनि स्वास्थ्य केन्द्रको नाममा बैंक खाता खोल्न नसक्दा समस्या भएको स्वास्थ्य केन्द्र भिखमपुरका प्रमुख सन्तोषकुमार साहले बताउनुभयो । वडा अध्यक्ष र गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नन्दलाल कुर्मीले खाता खोल्न कुनै चासो नदेखाएको उहाँको भनाइ छ । गत आर्थिक वर्षमा बर्थिंग सेन्टरमा प्रसुति गराए बापत १ लाख ८७ हजार रकम आएपनि सुत्केरी महिलालाई वितरण हुन नसेको हो ।

Leave a Reply