वीरगन्ज,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ की रुन्चीदेवी माझीले अस्पतालमै छाडेको नवजात नौं दिने शिशुलाई वीरगन्जको आशाराम अस्पतालले अभिभावकलाई बुझाएको छ । आशाराम अस्पतालकी व्यवस्थापक निभा दासले मृत्युको मुखमा पुगेको शिशुलाई आफूहरुले पुर्नजन्म दिएको भएपनि गरिबीका कारण माझी परिवारले खर्च दिन नसकेपछि उनीहरु नै दुई दिनदेखि सम्पर्क बिहिन भएको र मंगलबार मात्रै सम्पर्कमा आएको पनि दासले बताउनुभयो । शिशुकी आमा रुन्चीदेवीले भने आफूहरुको आर्थिक अवस्था एकदमै कमजोर रहेका कारण अस्पतालले मागे जति रकम दिन नसके पनि थोरै रकम लिएर आएको बताउनुभयो । आशाराम अस्पतालमा नौं दिन अगाडि शिशुको उपचारका लागि भर्ना गरिएको र औषधी खर्च बापतको ६ हजार सहित सबै गरेर ४३ हजार ४ सय ९० खर्च भएकोमा माझी परिवारले १४ हजार २ सय दिएको र २९ हजार अझै बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । यसैबीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १५ का वडा कार्यालयले शिशुको उपचारका लागि लागेको खर्च बहोर्ने प्रतिवद्धता जनाएपछि माझी परिवार शिशु लिएर घर फर्किएको आशाराम अस्पतालकी व्यवस्थापिका दासले जानकारी दिनुभयो । आफूहरुको तर्फबाट पनि ३० प्रतिशत छुट दिएको उहाँले बताउनुभयो ।