वीरगन्ज,बारा र पर्साका उद्योगी व्यवयासीले विद्युत् महशुल र कर बुझाउने समय थप्न सरकारसँग माग गरेका छन् । पर्सा र बारा औद्योगिक क्षेत्रमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएकाले दैनिक उत्पादन, व्यवसाय र प्रशासनिक कामकारवाही प्रभावित भएको भन्दै यहाँका उद्योगी र व्यवसायीले विद्युत् महशुल र कर बुझाउने समय थप्नुपर्ने माग गरेका हुन् । बारा÷पर्साका उद्योगी व्यवसायीहरूको छाता संस्था वीरगन्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरण र आन्तरिक राजस्व विभागलाई पत्र लेखेर तोकिएको समयभित्र विद्युत् महसुल र कर दाखिला गर्न सक्ने अवस्था नरहेको बताएको छ । स्वास्थ्य संवेदनशीलताका कारण उद्योग प्रतिष्ठानमा कर्मचारी तथा कामदार आवतजावत गर्न नसकेकाले समस्या भएको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बताउनुभयो । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले दैनिक उपभोग्यवाहेकका व्यापार, व्यवसाय, उद्योग तथा आवागमनसमेत बन्द भएकाले समस्या भएको गुप्ताको भनाइ छ । विगतको लकडाउनले मारमा परेका उद्योग व्यवसाय सामान्य गतिमा अघि बढ्ने क्रममै रहेका बेला अहिले फेरि कोरोनाको दोस्रो लहर शुरू भएको र संक्रमण नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञाले थप मार परेको संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो । बैशाख १६ गतेदेखि जिल्लामा लगाइएको निषेधज्ञाले उद्योगहरुको अवस्था झनै जटिल हुन पुगेको भन्दै उहाँले कम्तीमा विद्युत् महशुल र कर दाखिलाको समयमा सहुलियत पाए धेरै राहत हुने बताउनुभयो । सानो लगानीमा सञ्चालनमा रहेका उद्योग र व्यवसायीहरूमा विद्युतीय प्रविधिबाट महशुल दाखिला गर्न सक्ने दक्षता नभएको संघको दाबी छ । ठूलो प्रकृतिका उद्योग व्यवसायमा समेत प्राविधिक तथा प्रशासनिक कर्मचारीको अनुपस्थितिले विद्युतीय माध्यमबाट महशुल दाखिला गर्न सम्भव नभएको संघका उपाध्यक्ष हरी गौतमले बताउनुभयो । निषेधाज्ञा हटेपछि विद्युत् महशुल, कर विवरण र कर चुक्ता गर्नसक्ने सहुलियत दिन उद्यमी व्यावसायीले माग गरेका छन् । यो अवधिमा महशुल र कर तिर्न नसक्दा जरीवाना नलिन पनि वीरगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।