हुनत सरकारी अधिकारीहरुलाई यो प्रश्न सोधियो भने उनीहरुले कुनै न कुनै किसिमको जवाफ दिएर झारा टार्ने टार्ने गरेका छन । जंगली जनावरबाट हुने मानवीय क्षति कम गर्ने बिषयमा सरकारले नीति बनाएको पनि कुरा आउछ तर वास्तवमा जंगली जनावरबाट हुने मानवीय क्षति भने कम भएको छैन । शुक्रबार मात्रै बारामा एकजनालाई जंगली हात्तीले एकाबिहानै आक्रमण गरेर ज्यान लिएको छ । सवाल बारा जिल्लाको मात्रै होइन पूरै तराईका जिल्लाको सवालमा पनि कुरा गर्ने हो भने यो हात्ती आक्रमणको समस्या छ । बारामा हिजो भएको घटना पहिलो होइन ।
हात्तीको अक्रमणबाट नागरिकहरुले ज्यान गुमाउन परिरहेको छ । अझ जंगल क्षेत्रभन्द धेरै पर कलैया उपमहानगरपालिकामा नै पुगेर हात्तीले बितण्डा मच्चाउला भनेर धेरैले सोचेका पनि थिएनन होला । तर पनि घटना भयो र ठूलो मानवीय क्षति नै भयो । कलैया आफैमा घना बस्ती भएको शहर हो । कलैयामा हत्तपत्त जंगली हात्ती आएर आक्रमण गरी हाल्ला भन्ने पनि थिएन तर शुक्रबार नसोचेको घटना भएको छ । जसले सबैलाई दुःखी बनाएको छ । यस्ता घटना नोहारिएला भन्न सकिने अवस्था छैन । त्यसैले स्थानीयहरुमा त्रास कायमै छ ।
हात्ती नियन्त्रणमा लिने प्रयासमा प्रहरी पनि असफल भएको छ । हात्ती जंगलमा रमाउने र जंगलमा नै हिँड्ने जनावर हो । तर, पछिल्ला दिनमा हात्ती किन मानव बस्तीमा छिर्दैछन र किन मानिसमाथि आक्रमण गर्दैछ भन्ने बिषयमा सरकारका निकायहरुले चासो दिन आवश्यक छ र नीति पनि बनाउन आवश्यक छ । यसअघि जंगल छेउ वस्तिमामात्र क्षति गर्ने गरेको हात्ती घना बस्तीमा छिरेको छ र अब यसको स्थायी निराकरणका लागि नीति बनाउन आवश्यक छ ।