नरेश गुप्ता

बरियारपुर,जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिहले जिल्लाको एकीकृत एव समन्यायिक बिकासको लागि स्थानीय तहले साझा धारणा बनाउनु पर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति बाराद्वारा आयोजना गरिएको चौथौ जिल्ला सभालाई शुक्रबार सम्बोधन गर्दै सिहले स्थानीय तहको बिकास निर्माण कार्यमा आएको बाधा अड्चन समन्वय गरि समस्या समाधान गर्न आफुले पहल गरेको बताउनुभयो । जिल्ला समन्वय समिति बाराको मौज्दात कोष संचालन निर्देशिका २०७५ को अधिनमा रहि जिल्ला भरिका १६ पालिकाहरुलाई ५० लाखको दरले अनुदान दिइने प्रमुख सिहले बताउनुभयो ।

एक अर्को प्रसङ्गमा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाले बार्षिक बजेट नीति तथा कार्यक्रम बारे जिल्ला समन्वय समितिलाई जानकारी नगराएकोप्रति ध्यानाकर्षण गराउदै समितिमा ७ दिनभित्र बुझाउन आग्रह गर्नुभएको थियो ।

चौथो जिल्ला सभामा बोल्दै जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले चुरियामाई बारा जिल्लामा पर्ने भएको तर यसको हकदाबी मकवानपुर जिल्ला र बागमति प्रदेशले गर्दै आएकोले अब यसको संरक्षण र मानव निर्मित सुरुङ्ग मार्गको संरक्षण गर्नुपर्ने बतउनुभयो । सोही कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले जिल्ला समन्वय समितिको कार्य सराहनीय रहेको र स्थानीय तहमा भएको बिकास निर्माण कार्यमा समन्वय गरेर अगाडि बढन अभिप्रेरित गर्ने साँघुको रुपमा जिल्ला समन्वय समितिले बाराले काम गरिरहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति बाराका प्रमुख सिहको अध्यक्षतामा भएको चौथो जिल्ला सभामा सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र यादव, प्रसौनी गापा अध्यक्ष भोला गुप्ता, करैयामाइ गापा अध्यक्ष भुनेश्वर धामी, पचरौता नगरपालिकाको नगर प्रमुख रमेश यादव, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

 

Leave a Reply