कृष्णउदास खनाल

वीरगन्ज,बैशाख २३ गते साँझ वीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी एकदमै आत्तिनु भएको थियो । वीरगन्जमा कोरोनाको त्रास एकदमै बढेको बेला महानगरपालिकाका मेयर आत्तिनु स्वभाविक पनि हो तर नगरवासीलाई त जसरी पनि कोरोनाबाट बचाउँछु भन्ने हिम्मत बटुल्न सफल हुनु भएका मेयर सरावगीलाई आफ्नै उपमेयरको थप चिन्ता थियो । नेपाली काँग्रेसबाट राजनीति गरिरहनु भएकी वीरगन्जकी उपमेयर शान्ति कार्कीलाई अहिले पनि उहाँलाई प्रायःले शान्ति दिदी नै भन्छन् । अनि मेयर सरावगीले पनि संवोधन त्यही गर्ने गर्नुहुन्छ । मेयर र उपमेयरको राजनीतिक पार्टी फरक भएपनि शान्ति कार्कीप्रति सम्मान भाव देखिन्छ मेयर सरावगीको ।

उमेर नौं दशक, शरीर कुप्रो, खाना एकदमै थोरै ढल्किदो उमेर, उपमेयर शान्ति कार्कीलाई कोरोना भयो भनेपछि आत्तिनु भएको हो मेयर सरावगी । आत्तिएर मात्रै समस्या समाधान नहुने भएपछि सबै नागरिकहरुका लागि समेत लक्षित गरेर वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९ गोपालमण्डलीमा आइसोलेशन महानगरपालिकाले बनायो र कोरोनाबाट संक्रमित हुनु भएकी उपमेयर कार्की बैशाख २४ गते एक्लै भर्ना हुनुभयो ।

उहाँमा कोरोना संक्रमण देखिएपछि शरीरमा त्यस्तो अप्ठेरो समस्या केही थिएन । कोरोनालाई जित्न सक्छु भन्ने आत्मबल कार्कीमा स्पष्ट थियो । उहाँका शुभचिन्ताहरुले चिन्ता जायर गर्नु स्वभाविक पनि थियो तर उहाँले करिब दुई सातामा त्यही आइसोलेशनमा बसेर कोरोनालाई जितेर बिहीबार निस्कनु भएको छ । बधाई दिन बिहीबार बिहानै मेयर सरावगी नै पुग्नुभयो । शान्ति कार्कीको आत्मबलले सबैलाई ऊर्जा प्रदान गरेको मेयर सरावगीले बताउनुभयो । उहाँले कोरोना केही होइन नभनिकन आत्मबल लगाइयो भने सहजै पराजित गर्न सकिने बताउनुभयो । अघिल्लो पटकको कोरोना संक्रमणमा मेयर सरावगी पनि संक्रमित हुनु भएको थियो । ९१ बर्षीया उपमेयर शान्ति कार्कीले कोरोना जितेर घर फर्किएपछि यहाँका अन्य कोरोना संक्रमितहरुको पनि आत्मावल बढेको छ ।

Leave a Reply