काठमाडौं, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि हिँडाइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो । जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनस् कारागारमै फर्किएका थिए ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो । साभार : अनलाईन खबर

Leave a Reply