निजगढ,बाराको निजगढमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पिकअपको ठक्करबाट निजगढ नगरापालिका वडा नम्बर ५ निवासी ६७ वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति सवा ९ बजेको समयमा सोही नगरपालिकाको वडा नम्बर ७ मा ना २ च ७८९० नम्बरको पिकअपले प्राथमिक स्वास्थ्य केन्द्र जाँदै गरेका चौलागाईंलाई ठक्कर दिएको थियो । उनलाई निजगढस्थित सामुदायिक प्रसुति गृहमा सामान्य उपचारपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चन्द्रपुर वडा नम्बर ८ का २० वर्षका रुपेश गौतमलाई प्रहरीले सोमबार बिहान गाडीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर चौधरीले बताउनुभयो ।