कलैया,बाराको करैयामाई गाउँपालिकाको बिहीबार हुने भनिएको गाउँसभा विवादका कारण स्थगित भएको छ । करैयामाई गाउँपालिकाको कार्यालयले गाउँसभाको लागि तोकिएको मितिभन्दा एक दिन अघि बुधबार नै सूचना प्रकाशित गरी गाउँसभा स्थगित भएको जनाएको छ । असार १० गतेभित्र गाउँसभाबाट निति तथा कार्यक्रम पारित गर्ने कानूनी प्रवधान रहेको भए पनि योजना छनौटका विषयमा जनप्रतिनिधिहरुबीच विवाद हुँदा करैयामाई गाउँपालिकाको गाउँसभा स्थगित भएको बताइएको छ । बिहीबार गाँउसभाबाट निति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको भए पनि वडा अध्यक्षहरुको बिरोधका कारण गाउँसभा स्थगित भएको स्थानीयले बताएका छन् । तर करैयामाई गाउँपालिकाले सूचना प्रकाशित गरी आवश्यक तयारी पुरा हुन नसक्दा गाउँसभा स्थगित भएको बताएको छ । करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहले गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले सबै योजनाहरु एकलौटी ढङ्गले संचालन गर्न खोजेपछि गाउँसभाका अधिकांश सदस्यहरुले बिरोध जनाएको र गाउँसभा स्थगित भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष धामीले सबै योजनाहरु पालिका स्तरमै राखेको तथा वडा स्तरमा योजना नै वितरण गर्न नमानेपछि गाउँसभामा सहभागी हुनुको कुनै औचित्य नरहेको वडा अध्यक्ष साहले बताउनुभयो ।

बजेटको सिमा निर्धाणमा गाउँपालिकाको ३५ जनाभन्दा बढी सदस्यहरुको बिमति रहेको वडा अध्यक्ष साहले बताउनुभयो । करैयामाई गाउँ परिषदमा ४२ जना सदस्य संख्या रहेकोमा बजेट सिमा निर्धाणमा ३५ जनाको बिमति रहेको वडा अध्यक्ष साहले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष धामीले भने वडा अध्यक्षहरुले खाइपाई आएको सुविधामा कटौती गरेपछि विवाद भएको दावी गर्नुभयो । गाउँसभाको लागि निर्माण गरिएका बिभिन्न समितिहरुले तयार गरेको खाकामा सहमति नभएको तथा तयारी पनि नपुगेपछि सूचना प्रकाशित गरी गाउँसभा स्थगित भएको अध्यक्ष धामीले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here