वीरगन्ज,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सोमबारदेखि थप खुकुलो पारिएकाले जनजीवन फेरि सहजतातर्फ फर्किन शुरु गरेको छ ।

पर्सा जिल्लामा जारी निषेधाज्ञा सोमबारदेखि बजार र कार्यालयहरु खोल्न दिने गरी असार १३ गतेसम्मका लागि थप गरिएको हो । सोमबारदेखि निषेधाज्ञा एक साता थपिएको भएपनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पसल र बजार खोल्न दिइएको छ । यसैगरी झण्डै २ महिनादेखि बन्द रहेका सरकारी, सार्वजनिक र नीजी कार्यालयहरु पनि सोमबारदेखि खुलेका छन् । जसका कारण जनजीवन फेरि सहजता तर्फ फर्किन शुरु गरेको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि खुलेको वीरगन्जको बजारमा मानिसको चहलपहल पनि बढेको छ । आइतबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म पसल तथा बजार खोल्न दिने गरी निषेधाज्ञा असार १३ गतेसम्मका लागि थप्ने निर्णय गरेको हो । यसअघि पछिल्लो पटक जेठ ३१ देखि आइतबार असार ६ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा भने मध्यान्ह १२ बजेसम्म खाद्यान्न र कृषिजन्य पसलहरु मात्र खोल्न दिइएको थियो । तर सोमबारदेखि १३ गतेसम्म थप एक साताका लागि थपिएको निषेधाज्ञामा भने बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सबै किसिमका पसल र बजार खोल्न दिने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच कोरोना महामारीका कारण झण्डै दुई महिनादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पर्सा पनि सोमबारदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी स्थानीय तहअनुसार आलोपालो मिलाई भीडभाड नहुने गरी सेवा सञ्चालन गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । साताको आइतबार र सोमबार कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबिनी र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिनेछ । यस्तै मंगलबार र बुधबारका दिन बिन्दबासिनी गाउँपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल पर्साले जनाएको छ । यसैगरी हप्ताको बिहीबार र शुक्रबार भने वीरगनज महानगरपालिकाका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्राप्त गर्ने पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here