वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंको कोनियामा रहेको पोखरीलाई मासेर सामुदायिक भवन निर्माण गर्न वडा कार्यालयले तयारी गरेपछि स्थानीयबासीहरुले विरोध गरेका छन् । विगत लामो सयमदेखि कित्ता नम्बर ८४ को १ कठठा १० धुर क्षेत्रफलमा फैलिएको पोखरीलाई वडा कार्यालयले खाली जग्गा भनेर सामुदायिक भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाएपछि स्थानीयबासीहरुले विरोध गरेका हुन् । पोखरीलाई खाली जग्गा भन्दै वडा कार्यालयले वीरगन्ज महानगरपालिकालाई सिफारिस गरेपछि स्थानीयहरु विरोधमा उत्रिएको स्थानीय सुदर्शन लामिछानेले बताउनुभयो । उहाँले पुस्तौदेखि रहेको पोखरीलाई मासेर वडा अध्यक्ष सुखरानी देवीका पति बीरेन्द्र यादवले सामुदायिक भवन निर्माण गर्न प्रक्रिया बढाएपछि विरोधमा उत्रनु परेको बताउनुभयो । लामिछानेले वडामा रहेको ऐतिहासिक पोखरीलाई संरक्षण गर्दै अन्य ठाँउमा सामुदायिक भवण निर्माण गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष सुखरानी देवीका पति यादवले कुनै पनि हालतमा पोखरीलाई मासेर सामुदायिक भवन निर्माण गर्न अडान राखेपछि निर्माण रोक्का र शान्ति सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा लामिछानेले निवेदन दिनुभएको छ । तर, पनि वडा अध्यक्षका पति यादवले जिल्ला प्रशासनको निर्देशन नटेरेपछि उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगन्जमा वडा अध्यक्ष सहित ८ जनामा उजुरी दिएको बताउनु भएको छ । यता, वडा अध्यक्ष सुखरानीका पति यादवले आफुहरुले गाँउको हितमा काम गर्नका लागि सामुहिक रुपमा निर्णय गराउँदै सामुदायिक भवन निर्माण गर्न लागेको बताउनुभयो । उहाँले कुनैपनि हालतमा जनताको हितमा काम गर्नका लागि आफुहरु लागी परेको दाबी गर्नुभयो ।

Leave a Reply