काठमाण्डौं,सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच भएको सम्झौताप्रति आपत्ति जनाएको छ ।जसपाले शुक्रवार सिंहदरबारमा रहेको पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकलाई फसाउने गरी सम्झौता भएको भन्दै आपत्ति जनाएको हो ।आफ्नो पार्टी र एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने गरी सम्झौता गरिएको भन्दै त्यसप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताउनुभयो । उहाँले सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर अचानक २३ गते एउटा सम्झौता गरेर हामीलाई फसाउने अथवा जनता समाजवादी पार्टीका नेतामात्र नभई एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने दुष्प्रयास गरिँदैछ ।जसपाले गौर हत्याकाण्डमा तत्कालीन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ ।




















