जनकपुरधाम,प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बजेट विनियोजना गरेको जानकारी दिनुभयो ।

बजेटमा आन्तरिक राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने मन्त्री यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न १२ करोड रुपैयाँ विनियेजन गरिएको छ ।

प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि २ करोड, नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशसभामा मन्त्री यादवले जानकारी दिनुभयो ।

त्यसैगरी बजेटमा प्रदेश २ सरकारले स्वर्गीय महेन्द्रनारायण निधि आवास योजनाका लागि २० करोड रकम विनियोजन गरेको छ । यस योजना अन्तरगत गरीब तथा विपन्न ६ सय ४० परिवारका लागि आवासको व्यवस्था गरिने बताइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि प्रदेश २ सरकारले २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । यसैगरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक निर्माण कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ६७ करोड २० लाख रूपैयाँ विनियोजन गरेको छ । सरकारले चुरे क्षेत्र संरक्षणका लागि १८ करोड ३६ लाख रूपैयाँ विनियोजन गरेको छ । यसैगरी सडक किनारमा ग्रीन बेल्ट निर्माण गर्न ७ करोड ३८ लाख र लोकतान्त्रिक आन्दोलन तथा मधेश आन्दोलनका सहिदहरूको सम्मानमा स्मृति पार्क निर्माण गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो । प्रत्येक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका उद्देश्यले होमस्टे कार्यक्रम सञ्चालन गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री यादवले बताउनुभयो । यसैगरी प्रदेश २ का सम्पदाहरुको संरक्षणका लागि १५ करोड, हरित एवं स्वच्छ प्रदेशको सपना सकार गर्न १६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पार्क निर्माण गर्न १६ करोड र फन पार्क निर्माणका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिँदै ३१ करोड र बेटी पढाउ बेटी बचाउ अभियानका लागि २० करोड रकम विनियोजन गरिएको छ । यसैगरी गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंहको स्मारक निर्माणका लागि ४ करोड तथा सहिद दुर्गानन्द झाको स्मारक निर्माणका लागि २ करोड विनियोजन गरिएको मन्त्री यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here