निजगढ,निजगढ नगरपालिकामा नगर विकासको आवाधिक योजना निर्माण गर्न ३ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । आवाधिक योजना र मध्यमकालीन खर्च संरचना तयार पार्ने क्रममा आइतवार स्थानीय सरोकारवालाहरुको सहभागितामा नगरपालिकाको आयोजनामा गोष्ठी सुरु भएको हो । गोष्ठीको नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा पालिकाको पाश्र्वचित्रमा संलग्न सूचनाको बारेमा जानकारी गराइनुको साथै पालिकाको बस्तुस्थितिको विश्लेषण र यसअघि आयोजना गरिएको वडा भेलाको समीक्षा गरिएको थियो ।त्यसैगरी पालिकाको विषय क्षेत्रगत बस्तुस्थित, चुनौति र शंभावनाको बारेमा परामर्शदाताको गभर्नेन्स एण्ड डिजाइन सोलुशनका कार्यकारी निर्देशक विके महर्जन र अर्का विज्ञ बन्दुबाबु अधिकारीले जानकारी गराउनुभएको थियो । आवधिक योजना निर्माणपछि पालिकामा विकास निर्माण कार्य प्रभावकारीरुपमा संचालन गर्न सकिने र परिणाममुखी हुने गभर्नेन्स एण्ड डिजाइन सोलुशनका कार्यकारी निर्देशक महर्जनले जानकारी दिनुभयो । नगरपालिकामा योजनावद्ध र प्रभावकारीरुपमा विकास निर्माणका कार्य संचालन गर्न परामर्शदात्री संस्थाको सहयोगमा नगरपालिकाले आवधिक योजना निर्माण गर्न लागेको नगर प्रमुख सुरथ पुरीले बताउनुभएको छ । गोष्ठीबाट प्राप्त सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार पारेर कार्यान्वय गरिने उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा नगरपालिकाका प्रमुख, उप्रमुख, वडा अध्यक्षलगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, समाजसेवी, शिक्षक, संचारकर्मीलगायत सरोकारवालाहरुको सहभागिता रहेको छ ।यसअघि बैशाख ५ देखि ८ गतेसम्म नगरस्तरीय कार्यशाला गोष्ठी आयोजना गर्ने बताइएको भएपनि एक महिनाभन्दा बढी समय ढिला गरेर गोष्ठी आयोजना गरिएको हो ।


















