मंसिर ४ मा सम्पन्न भएको आम चुनावको परिणाम आएको करिब एक महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् ।
संविधानको धारा–७६ को उपधारा–१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन् । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको कुरा आइतबार बताइएको छ । संविधानको धारा–७६ को उपधारा–२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।
नेपालमा हालै सम्पन्न भएको चुनावमा कुनै दलको पक्षमा पनि स्पष्ट बहुमत नआएका कारण पनि अब दुई वा त्यो भन्दा बढीको दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था तर राजनीतिक दलहरु सत्ताको स्वार्थमा रुमलिएका कारण एक हप्ताको समयसीमा सरकार बन्ने संभावना कम छ ।
हुनत यो समयमा सरकार नबनेको खण्डमा अर्को चरणमा प्रवेश त गर्ला नै तर सरकार यही समयमा गठन भएको खण्डमा भने मुलुकलाई निकास दिनका लागि सजिलो हुनेछ । सरकार संचालनका लागि पनि पुराना दलहरु नै अगाडि बढ्ने देखिन्छ । मतदाताहरुले नयांको अपेक्षा गरेपनि त्यो चाहना हालका लागि पूरा हुने संभावना लगभग छैन ।
















