नरेश गुप्ता
बरियारपुर,हरेक वर्ष झै यस वर्ष पनि फागुन महिनाको आगमनसंगै बाराको महागढीमाई नगरपालिकका विभिन्न स्थानमा गर्न लागिएको मधानी महायज्ञको सम्पुर्ण तयारी पूरा भएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुर र वडा नम्बर १ गंजभवानीपुरमा आयोजित आयोजना गर्न लागिएको मधानी महायज्ञको सम्पुर्ण तयारी पूरा भएको कावारिया संघ गंजभवानीपुरको रघुनाथ महतो कोइरीले बताउनु भयो । मधानी महायज्ञको लागि महागढीमाई नगरपालिका तथा स्थानीय समाजसेवीहरुको लगानीमा महायज्ञको तयारी गरिएको हो ।
फागुन १७ गते महाशिवरात्रीको अवसरमा कावारिया भक्तजनको लागि पूजापाठ गर्न र विश्रामको लागि भक्तजनाहरु भेला हुने स्थलको तयारीमा जुटेको युवा संघ नेपाल महागढीमाई नगर संयोजक जयकिसुन यादवले जानकारी दिनु भयो । महायज्ञमा आसपासका ५ हजारभन्दा बढी कावारियाको सहभागिता रहने बताइएको छ ।
भक्तजनको लागि महागढीमाई नगरपालिका १० मा बिटोर हुने र फाल्गुन ५ गतेसम्म पूजापाठ गर्ने भक्तजनहरु बताउछन् । बिटोरी शिव पार्वतीको लचारी र भक्ती भावले गुन्जयमान हुने बताइएको छ । करिब १५ लाखसम्म खर्च हुने अनुमान गरिएको मधानी महायज्ञको लागि पच्चीस बिगाहा क्षेत्रफलमा विश्राम स्थल बनाइएको छ ।
यो महायज्ञमा निष्ठा र आस्थापूर्वक कष्टकर दैनिकी सहेर भगवान शंकर र पार्वतीजीको पूजा गर्ने मधेसमा प्रचलन रहेको छ । लाचारी भनिने शंकरजीको गीतले अहिले आसपासको समुदाय गुन्जयमान बनेको छ । त्यसैगरी बसाहा पुजा, कचहरीले समुदायलाई अनुशासित बनाएको छ । माघको धुनीसँगै शंकर पार्वतीको वैवाहिक नाटक मञ्चन गरी थारू समुदायले देखाउने पलटको नाचले समुदाय रमाएको छ । पवित्र छठ पर्वपछि पुसबाहेक माघदेखि हिउँदभर चल्ने मधानी र विटोरले धार्मिक आस्था बढाएको छ । धार्मिक अनुष्ठान अष्टयाम, लखँराव, हनुमान अराधना र मधानीको मौसमले समुदाय प्रफुलित पनि बनेको स्थानीयले बताएका छन ।
२५० जना कावरियालाई कम्बल
नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित मधानी महायज्ञमा सहभागी २ सय ५० कावारिया भक्तजनलाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवले मंगलबार कम्बल वितरण गर्नु भएको छ ।
‘शिवजी तोहरे झोरियामे हो’ बोलको लचारी गीतसंगै गुन्जयमान मधानी महायज्ञ बरियारपुरबाट मंगलबार प्रस्थान भइ महागढीमाई ननगरपालिका वडा नम्बर १० गंजभवानिपुरमा बिटोर हुने कार्यक्रम रहेको छ ।
बिगत ४० वर्षपछि मात्र गंजभवानीपुरमा विशाल कफ्लाको आयोजना गरिएको नगर उपप्रमुख तारा देबी कानुले बताउनुभयो । मधानी महायज्ञ कावारिया संघ गंजभवानीपुरमा ५ हजारभन्दा बढी कावारिया बाबाहरु आउने बताइएको छ । उनीहरुको लागि ठूलो क्षेत्रफलमा विश्राम स्थल र भण्डाराको व्यवस्थापन गरिएको मधानी महायज्ञ कावारिया संघ गंजभवानिपुरको प्रेमशंकर जैसवालले जानकारी दिनुभयो । विगत ४० वर्षपछि मात्र यस्तो विशाल काफलाको आयोजना भएकोमा स्थानीयबासीमा उत्साह र भक्तिभाव पनि जागेका छन ।















