सिमरा,नेपाल तेक्वान्दो संघ मधेस प्रदेश कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । निजगढस्थित होटल राजमार्गको सभासहलमा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभाको उद्घाटन मधेस प्रदेशसभा सदस्य मीना लामाले गर्नुभएको थियो । उद्घाटनसत्रमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र नवौं राष्ट्रिय खेलकुदमा पदक ल्याउने खेलाडीसहित प्रशिक्षक, कार्यसम्पादनमा मधेस प्रदेशका उत्कृष्ट जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।
साधारणसभामा चीनमा सम्पन्न एशिएन गेम्समा सहभागी पर्साका ज्याकी यादव, नवौं राष्ट्रिय खेलकुद २०७९ मा मधेस प्रदेशका लागि स्वर्ण विजेता मोहम्मद सोहेब अख्तर, रजत विजेता अफताब आलम, अमित सिंह, कास्य विजेता पार्वती बस्नेत, विकास तामाङ, विक्रान्त डंगोल, मनिषा वाइवा र पवन श्रेष्ठलाई सम्मानित भएका थिए । सोही अवसरमा प्रशिक्षक नाजिर हुसेन र हेमलाल श्रेष्ठलाई समेत सम्मान गरिएको प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा धनुषाको प्रिया तेक्वान्दो डोजाङ, पर्सा, सिरहा, बारा जिल्ला कार्यसमितिलाई समेत कार्यसम्पादनका आधारमा सम्मानित गरिएको छ । प्रदेशसभा सदस्य मीना लामा, तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष भानु चन्द, महासचिव दीपराज गुरुङ, कोषाध्यक्ष कासिम मियाँलगायतले खेलाडी, प्रशिक्षक र जिल्ला कार्यसमितिका पदाधिकारीलाई सम्मानपत्र वितरण गरेका थिए ।प्रदेश अध्यक्ष पेमासिद्धी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, अन्तर्राष्ट्रिय प्रशिक्षक कविराज खड्गीसहित प्रदेशका पदाधिकारी र सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भाइकाजी श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तब्य शम्शेर थापाले राख्नुभएको थियो ।

Leave a Reply