बिदुर खडका
डुमरवाना,नवदुर्गा पूजा समिति डुमरवानाले विजय दशमीमा दुर्गा पूजा लगाएर संकलन गरेको चन्दा रकमको हिसाव सार्वजनिक गरेको छ ।जिल्लाका विभिन्न स्थानमा दशैंको समयमा सार्वजनिक स्थालमा पण्डाल बनाएर गरिने दुर्गा पूजाको नाममा संकलन गरिएको रकम अनियमितता हुने गरेको गुनासो आइरहेको बेला डुमरवाना पूजा समितिले भने दानबापत प्राप्त भएको रकमको हिसाब सार्वजनिक गरेको हो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को हात्तिसार बजारमा दशैको नवरात्रीभरि गाना बजानासहित दुर्गाको पूजा गरिएको थियो ।सर्वसाधारणबाट संकलन भएको रकममध्ये सबै खर्च कटाएर १ लाख ८४ हजार बचत भएको पूजा समितिका सचिव भरत पौडेलले सार्वजनिक सुनुवाइमा जानकारी दिनुभएको थियो । पूजा समितिले बचत गरेको रकम सार्वजनिक खातामा राखिएको समितिका सदस्य राजकुमार अर्यालले जनाउनुभयो ।समितिले ५ हजार रुपैयाभन्दा बढी चन्दा दिने दाताहरुलाई सम्मानसमेत गरेको थियो ।


















