निजगढ,नगरपालिकाले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैयाखोला ड्याम छेउमा उपभोक्ता समितिले गरेको पोखरी खन्ने प्रयास शनिबार पनि विफल भएको छ । निजगढ नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको पोखरी खन्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रयास विफल बनेको हो । डिभिजन वन कार्यालय बाराले बिहिबार पोखरी खन्ने कार्यमा रोक लगाएपछि उपभोक्ता समितिका केही मानिसहरु डोजरसहित पोखरी खन्न पुगेका थिए । स्थानीयले विरोध गरेपछि पोखरी खन्न गएको डोजर त्यसै फर्किको थियो । बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको वनमा पर्ने उक्त क्षेत्रमा वन कार्यालय र उपभोक्ता समुहको सहमति बिना नै निजगढ नगरपालिकाले पोखरी खन्न थालेपछि निर्माण कार्य रोक्न लगाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सहमति बिना पोखरी खन्न थालेको जानकारी पाएसंगै वन समुहका अध्यक्ष रविराज दंगालसहितका पदाधिकारी, वन कर्मचारीहरुको टोली पुगेर निर्माण कार्य रोक्न लगाएका थिए । ५ दिनअघि राति करिब ९ बजे पनि सोही स्थानमा पोखरी खन्ने प्रयास भएको र स्थानीयहरुले विरोध गरेपछि निर्माण कार्यमा प्रयोग भएको एक्साभेटर भगाइएको स्थानीयले बताएका छन । राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा अघिल्लो वर्ष पनि अनुमति बेगर पोखरी निर्माण गर्ने प्रयास भएको थियो । तर पोखरीमा बालबालिका परेर दुर्घटना हुन सक्ने भन्दै स्थानीयले विरोधका कारण पोखरी निर्माण कार्य गत वर्ष पनि रोकिएको थियो । वस्ति नजिकै पोखरी खन्दा बालवालिकाहरुको डुबेर ज्यानै जानेसम्मको घटना हुन सक्ने भन्दै स्थानीयले पनि विरोध गर्दै आएका थिए । गतवर्षको असार १७ गते वन कार्यालयको अनुमति नलिइ पोखरी खनेको सूचना पाएसंगै सो एस्काभेटर चालक सहित दुई जनालाई वन कार्यालयले नियन्त्रणमा समेत लिएको थियो । यस वर्ष भने निजगढ नगरपालिकाको १० लाख रुपैया सहयोगमा पोखरी खन्न लागिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here