खासगरी मुलुककै सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयमा फेरि राजनीतिक भागवण्डा शुरु भएको छ । सरकार आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी पार्टीले आफू अनुकूलको उपकुलपतिलगायत पदाधिकारी नियुक्ति गर्न रस्साकस्सी शुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यक्तिलाई उपकुलपति नियुक्ति गर्न जोडबल गर्नुभएको कुरा बाहिर आएको छ ।त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राईले जसपालाई पनि पदाधिकारीको भागवण्डा खोज्नुभएको छ । माओवादी केन्द्रले उपकुलपति लिए नेपाली कांग्रेसले रजिस्ट्रार लिने र कांग्रेसले उपकुलपति छाने माओवादी केन्द्रले रजिस्ट्रार लिने गरी तयारी भएको छ । बाँकी पदमा सरकार आवद्ध अन्य दलबीच सहमति गर्ने तयारी भएको छ ।त्रि.वि.मा रजिस्ट्रारको पदावधि पुस ९ गते सकिँदै छ । रजिस्ट्रारको पदावधि सकिएपछि त्रि.वि.मा उपकुलपति, रेक्टर, रजिस्टार र त्रि.वि. सेवा आयोगको एकजना सदस्यको पद रिक्त हुन्छ । त्रि.वि.मा राजनीतिक भागवण्डा गर्न नहुने चर्चा चलिरहँदा सरकार आवद्ध दलका नेता भने भागवण्डाबाट पदाधिकारी नियुक्ति गर्न लागिपरेका छन् । उपकुलपति प्रा.डा. बास्कोटाको पदावधि सकिएपछि तीन महिने उपकुलपतिको बागडोर सम्हालेका प्रा.डा. शिवलाल भुसालले पनि उपकुलपतिमा इच्छा जाहेर गर्नुभएको छ । माओवादी कोटाबाट रेक्टर भएका उपकुलपति प्रा.डा. भुसाल आफू पूर्ण कार्यकालका लागि उपकुलपति हुनुपर्ने दाबी पेस गरेका छन ्।

Leave a Reply