कलैया,बाराको पचरौता नगरपालिका– ७ बेनौलीमा बुधवार करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । मृतक ६० वर्षीय गुलाब राय यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।यादव आफ्नै धान खेतमा काम गरिरहेका बेला करेन्ट लागेको हो । स्थानीय संजय पटेल र जिमदार मुखियाले खेतमा पानी तान्नका लागि विद्युत् तार जडान गर्ने क्रममा यादव नाङ्गो तारको सम्पर्कमा आएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि कबही लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक शेख नेक महम्मदको कमाण्डमा र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुनसिंह ठगुन्नाको नेतृत्वमा मुचुल्का टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख, प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
प्रवक्ता पण्डितका अनुसार मृतक यादवले केही दिनअघि संजय पटेल र जिमदार मुखियाविरुद्ध असुरक्षित विद्युत् जडानको विषयमा प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीमा विद्युत् तारको अव्यवस्थित प्रयोगले जनजीवनमा जोखिम बढाएको उल्लेख गरिएको थियो ।
स्थानीय बासिन्दाहरूले खेतमा पानी तान्न प्रयोग हुने विद्युतमा सुरक्षा मापदण्डको बेवास्ता गर्दै आएको गुनासो गर्दैआएका छन् । यसअघि पनि सो क्षेत्रका विभिन्न स्थानमा असुरक्षित तार जडान र विद्युत चुहावटका कारण मानिस तथा पशु घाइते हुने घटना घटिसकेको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । दोषी ठहरिने व्यक्तिमाथि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ । स्थानीयहरूले यस्ता घटनाबाट बच्न विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायले निगरानी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।



















