वीरगन्ज,नेपाल विद्यार्थी संघले वीरगन्जको ठाकुरराम क्याम्पसको मूलगेटमा मंगलबार विरोध प्रदर्शन गरेको छ । अवैध उत्खनन्का कारण चुरे विनाश भइरहेको अवस्थामा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेत चुरे दोहनलाई सरकारले प्रोत्साहन गरेको भन्दै नेविसंघले त्यसको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको हो । नेविसंघका क्याम्पस ईकाइ अध्यक्ष मनोजकुमार साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले चुरे बचाऊँ देश जोगाऊँ, चुरेको व्यापार राष्ट्रघाती कदम हो, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई, ढुंगा गिट्टीको नाउँमा देश बेच्न पाईदैँन, चुरे हाम्रो माई हो । यसलाई जोगाउने हाम्रो लडाईं हो । जस्ता नारा समेत लगाएका थिए । नेविसंघका ईकाइ अध्यक्ष साहले देशको व्यापार घाटा कम गर्न ढुंगा गिट्टी र बालुवा निकासी गर्ने सरकारको निर्णय राष्ट्रघाती भएकोले आफुहरु विरोधमा उत्रिएको बताउनुभयो । चुरे दोहनबाट व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको योजनाले मधेशलाई मरुभूमीकरण गर्ने उहाँको भनाइ छ । पछिल्लो समय भइरहेको निरन्तरको चुरे दोहनले मधेशमा पानीका मुहानहरु सुक्दै गइरहेको अवस्थामा सरकारको यो निर्णयले मधेशमा पानीको चरम अभाव सृजना गर्ने उहाँको तर्क छ । विरोध प्रर्दशनमा नेविसंघका शेष हजरा, बिट्टु पटेल, शेखर गुप्ता, अभिनाष गुप्ता, प्रिंस तिवारी लगायतको सहभागिता रहेको थियो ।